-1755326846.jpeg)
देशैभर एकसाथ चलिरहेको माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेड वृद्धि परीक्षा रुकुम पश्चिममा पनि साउन २९ गतेदेखि जारी छ । जिल्लाभरबाट २०८१ सालको एसइई परीक्षामा नन ग्रेडमा परेका विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् । जिल्लामा ग्रेड वृद्धिका लागि तीन वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ । यमुना नन्द नमुना मावि सेरिगाउँ, न्यू मुन लाइट सेन्केन्डरी मिडियम बोर्डिङ स्कुल सेरिगाउँ र त्रिभुवन जनता मावि खलङ्गाबाट परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।
शनिवार गरिएको अनुगमनका क्रममा परीक्षार्थी मोबाइल फोनको भरमा परीक्षा दिइरहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा त्रिभुवन जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेको अवस्थामा ४९ वटा मोबाइल फोन जफत गरिएको छ । परीक्षार्थीबाट जफत गरिएका मोबाइल फोन परीक्षा सञ्चालन अवधिभर अर्थात् भदौ ४ गतेसम्म स्कुल प्रशासनलाई सुरक्षित राख्न निर्देशन गरिएको छ । त्यसपश्चात् भने जफत गरिएका मोबाइल फोन के गर्ने भन्ने विषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो । विद्यार्थीलाई परीक्षा कोठा मोबाइल फोन प्रवेश गराउन दिने र मोबाइल फोनकै सहारामा परीक्षा गर्दा पनि गार्डको लापरबाही देखिएकाले यस्ता खाले कमजोरी गर्ने गार्डलाई परिवर्तन गर्न र आगामी दिनमा हुने परीक्षामा गार्ड नराख्न समेत केन्द्राध्यक्ष गोपीराम केसीलाई प्रजिअ जिसीले निर्देशन दिनुभयो ।
विभिन्न विद्यालयबाट नन ग्रेड भएका १ सय ५१ विद्यार्थी रहेको परीक्षा केन्द्रमा ४९ जना विद्यार्थीले भने परीक्षा कोठामै मोबाइल फोन लिएर परीक्षा दिइरहेको पाइएको शिक्षा विकास समन्वय इकाइका प्रमुख ताराप्रकाश पुनले जनाकारी दिनुभयो । उहाँका अनुसार बारम्बार फोन नल्याउन आग्रह गरे पनि परीक्षार्थीले नटेर्ने गरेको उहाँको भनाई छ । यमुना नन्द नमुना मावि सेरिगाउँ र न्यू मुन लाइट सेकेन्डरी मिडियम बोर्डिङ स्कुलमा पनि यस्तै समस्या रहेको उहाँको भनाई छ । ह्वाट्सएव मेसेन्जरमा ग्रुप बनाएर प्रश्नको हल गरी ग्रुपमा राख्ने र त्यस्तैबाट परीक्षा दिने गरेको पाएको हो । जफत भएका मोबाइल फोन परीक्षा अवधिभर परीक्षार्थीलाई नदिने र त्यसपश्चात् छलफल गरेर निर्णय गरिने प्रमुख पुनले जानकारी दिनुभयो ।
परीक्षार्थीबाट मोबाइल फोन जफत गर्ने र परीक्षा सकिएपछि फोन दिँदा केही हुँदैन, फोन पाइहालिन्छ भन्ने परीक्षार्थीको सोचाइले यस्तो समस्या आएको केन्दाध्यक्ष गोपीराम केसीले बताउनुभयो । परीक्षार्थीलाई बारम्बार परीक्षा कोठामा मोबाइल फोन नल्याउन आग्रह गरे पनि नटेर्ने गरेको उहाँको भनाई छ । परीक्षा समय सकिन ४५ मिनेट बाँकी रहँदा उक्त फोन विद्यार्थीको साथबाट फेला परेका थिए ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी जिसी, जिल्ला प्रहरी प्रमुख प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, शिक्षा विकास समन्वय इकाई प्रमुख पुन लगायत रहनुभएको थियो ।