
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चट्याङ लागेर ४ जना घाइते भएका छन् । बिहीबार रातीको चट्याङले वडा नम्बर १४ मा ४ जना घाइते भएका हुन् । अविरल वर्षासँगै परेको चट्याङले गोर्खे महताराकी २२ बर्सिया छोरी सुनिता महतारा गम्भीर घाइते हुनुभएको छ ।
त्यस्तै सोही वडाको जनविकास माविका शिक्षक खिमानन्द चन्द, सोही विद्यालयमा अध्ययनरत भवानी मल्ल र निरुता मल्ल सामान्य घाइते भएको बताइएको छ । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको स्थानीयले बताएका छन् ।
चट्याङका कारण स्थानीय चन्द्रे मल्लको घरमा जडान गरिएको सोलार प्रणाली र बिजुलीका तार समेत जलेका छन् । जनविकास माविको शिक्षक निवासमा जडान गरिएको बिजुलीको तार समेत जलेर क्षति भएको विद्यालयले जनाएको छ । प्रहरीले भने यस बारेमा अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको र बुझ्ने काम भइरहेको बताएको छ ।