
रुकुम पश्चिममा आयुर्वेद स्वास्थ्य सेवामा आकर्षण बढ्दै गइरहेको छ । जिल्लामा वर्षेनी आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरुको संख्या वृद्धि हुँदै गएको हो । वितेको आर्थिक वर्षमा मात्रै झण्डै १४ हजारले व्यक्तिले सेवा लिएको आयूर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ ।आयूर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर महेन्द्र खड्काका अनुसार वितको आर्थिक वर्ष २०८१०८२ मा केन्द्रबाट महिला र पुरुष गरेर कुल १३ हजार ९ सय ६७ जनाले सेवा लिएका छन् ।
कार्यालयमै पुगेर ७ हजार ४ सय २३ जना महिला र ४ हजार ४ सय १३ पुरुष गरेर ११ हजार ४५ जनाले सेवा लिएको उहाँको भनाई छ । बाँकी २ हजार १ सय २२ जनाले शिविर मार्फत सेवा लिएका हुन् । आयूर्वेद स्वास्थ्य केन्द्रबाट पायल्स, फिसर फिस्टुला, क्षार सुत्र तथा सामान्य शल्यक्रमबाट सेवा प्रदान गरिँदै आएको छ । त्यस्तै गाउँघर क्लिनिक, जेष्ठ नागरिक सेवा, योग सेवा, स्तनपायी आमालाई सेवा, विद्यालय आयूर्वेद तथा योग शिक्षा लगायतका सेवा प्रवाह गरिएको थियो ।
क्षार सुत्र विधिबाट उपचार सेवा ६६ महिला र ५५ पुरुष गरी १ सय २१, उपचारात्मक योगबाट २ सय ५७ महिला र १ सय ५६ पुरुष गरी ४ सय १३, जेष्ठ नागरिक सेवा अन्तरर्गत १२ सय ७२ महिला र ७ सय ८६ पुरुष गरी २ हजार ५८, स्तनपायी आमा सेवा अन्तर्गत २ सय ८५ जना सुत्केरी आमाले सेवा प्राप्त गरेको कार्यालय प्रमुख डाक्टर खड्काले जानकारी दिनुभयो । त्यस्तै आयूर्वेद गाउँघर क्लिनिक सानीभेरीबाट ८ सय ७४, निशुल्क स्वास्थ्य शिविरबाट त्रिवेणी गाउँपालिकामा ३ सय ७, पायल्स, फिसर र फिस्टुला सम्बन्धी स्कृनिङ शिविरबाट ७६, विद्यालय आयूर्वेद योग शिविरबाट आधारभूत तहका १ सय ९९ जना र मावि तहका १८ सय ४७ जना विद्यार्थीले योग शिक्षा लिएका थिए । योग शिक्षा त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका विद्यालयरुमा संचालन गरिएको थियो ।
आयूर्वेद स्वास्थ्य केन्द्रबाट चेकजाँच, औषधी वितरण, जेष्ठ नागरिकको वृद्धि विकासमा सहयोग गर्ने औषधी तथा पोषिला खानेकुरा, पञ्चकर्मद्धारा विभिन्न समस्याको उपचार सहित ल्याब सेवा पनि आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रवाह भइहरेको डाक्टर खड्काले बताउनुभयो । ‘‘जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकहरुको आकर्षण बढ्दै गएको देखिन्छ, आयुर्वेद उपचार पद्धतिमा विश्वास बढ्दै गएकोले उपचार सेवा लिनेहरुको संख्या बढ्दै गइरहेको छ, औषधी निशुल्क पाइने र भरपर्दो सेवा पाएपछि आफुहरु सेवा लिन आउने गरेको सेवाग्राहीले बताउछन् उहाँले बताउनुभयो ।
स्थानीय तहहरुमा पनि आयुर्वेद सेवा पुग्नु, बेला बेलामा ठाउँ ठाउँमा शिविर संचालन गर्नु लगायतका कारण पनि सेवा लिनेहरुको संख्यामा बृद्धि भइरहेको उहाँले भनाई छ । आयुर्वेद सेवा केन्द्र मुसीकोट १ खलंगाबाट संचालनमा छ भने जिल्लाका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नागरिक आरोग्य केन्द्रका नाममा आयुर्वेद सेवा प्रवाह भइरहेको छ । भने सानीभेरी गाउँपालिकामा गाउँघर क्लिनिकबाट शिविर संचालन गरेर सेवा प्रवाह गरिँदै आइरहेको छ । त्यस्तै मुसीकोट नगरपालिका ५ शेरिगाउमा आयुर्वेद औषाधालय संचालनमा रहेको आयूर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ ।