
जेनजी आन्दोलनको फाइदा उठाएर जेल ब्रेक गरेर भागेका कैदीबन्दी मध्ये रुकुम पश्चिममा ६९ जना पक्राउ परेका छन् । केही आफै सम्पर्कमा आएका हुन भने अधिकांशलाई प्रहरीले पक्राउ गरेको हो । अझै १९ जना कैदीबन्दी फरार छन् ।
पछिल्लो पटक दिइएको समयमा ५ जना कैदीबन्दी आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असोज २० गतेसम्म फरार कैदीबन्दीहरुलाई आफै कारागारमा आउन समय दिएको थियो ।
प्रशासनले दिएको असोज १२ गते देखि २० गतेसम्मको समयमा ५ जना मात्र कैदीबन्दी आफै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
अझै १९ जना कैदीबन्दीहरु बाहिर नै रहेको उहाँले बताउनुभयो । जेन–जी आन्दोलनको फाइदा उठाउँदै जिल्ला कारागारमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका ८८ जना कैदीबन्दी कारागारको ढोका फोडेर भागेका थिए ।
जिल्ला प्रशासन र प्रहरीले पटक पटक समय दिएर आफै सम्पर्कमा आउन र आफै सम्पर्कमा आए थप कारबाही नहुने भन्दै सम्पर्कमा आउन अपिल गरेका थिए । पछिल्लो पटक पनि प्रशासनले असोज २० गतेसम्म सम्पर्कमा आए थप कारबाही नहुने भन्दै कारागार फर्किन अपिल गरेको थियो ।
तोकिएको समयमा नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले भनेको थियो ।