म धर्ती चिन्दिन,
म गगन चिन्दिन।।
आमालाई जमिन बनाएर,
बुबालाई गगन बनाएर,
आमाको पेटमा बीज बनेर,
धर्ती टेक्ने दिन गनेर,
पहिलो पाइला आमाको पेटमा टेके,
त्यसैले मेरो पहिलो धर्ती आमा नै हुन् ।
त्यो धर्ती टेकाउने पहिलो गगन मेरा बाबा नै हुन ।
मन्दिरमा भगवान् कहाँ भेटिएला ,
आमामा भगवान् कहाँ नभेटिएला ?
साँच्चै, मूर्ति पुज्ने म मूर्ख हुँ ।।
आमा, तिम्रो दीर्घायुको कामना गरिरहन्छु ।
तिमी छौ र त आमा हरेक पीडाको मलम छ। मेरो भगवान्,
मेरी आमा तिमीलाई तिम्रै छोराको सलाम छ।।
सोच्छु, कहिले गर्ल्याम्म लड्दा आमा किन भन्छु ?
कहिले केही चिजले घोच्दा आमा किन भन्छु ?
ओहो, तिम्रो दूध अनि रगतबाट सिकिस्त यो शरीर लड्दा,
मलाई भन्दा पनि तिमीलाई पो दुख्दो रहेछ ।
त्यसैले दुःखमा पनि मेरी आमा भनेर भन्दा रहेछन् ।।
आमा, तिम्रो कति थोपा दूधले बन्यो होला है ?
मेरो शरीरको एक थोपा रगत ।।
कति रगतकै नदी बगाउनुभयो होला,
मलाई देखाउन यो जगत् ।।
आमा म अरू के नै गर्न सक्छु र,
तिम्रो रगत र दूधको सम्मानमा ।।
वृद्धाश्रम पुर्याउने छैन,
वचनका तीखा बाणले,
तिम्रो छाती फुटाउने छैन ।
मसिनो मैले र मेरा सन्तानलाई खुवाएर
तिमीलाई खस्रो खुवाउने छैन ।।
तर, आमा मैले तिम्रो लागि
रगतका धारा फुटाउन सक्दिन कि,
दूधका थोपा खसाउन सक्दिन कि,
गर्भभित्र तिमीलाई अटाउन सकिन्न कि,
तर तिमीलाई जति उति माया दिन सक्दिन कि ?
आमा, तिमी छौ र त भगवान् छन्,
तिमी छौ र त घर छ,
तिमी छौ र त आधार छ,
तिमी छौ र त हिम्मत छ,
तिमी छैनौ त सधैँ अधुरो छ,
तिमी छौ र त हरेक पीडाको मलम छ ।
आमा मेरो भगवान्,
तिमीलाई तिम्रै छोराको सलाम छ ।।
निर्मलबिक्रम रेग्मी
त्रिवेणी-३ रुकुम (पश्चिम)





-1759842583.jpg)