Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा  प्रथम बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

रुकुम पश्चिमको मुसिकोट स्थित खलङ्गा बहुमुखी क्याम्पसमा आजदेखि “प्रथम मुसिकोट बहु विषयक राष्ट्रिय सम्मेलन” सुरु भएको छ । खलङ्गा बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको दुई दिने सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद् तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको छ । “कर्णालीमा समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन उच्च शैक्षिक संस्थाहरूको भूमिका” भन्ने मूल विषयसहित सुरु गरिएको सम्मेलनले कर्णाली प्रदेशको शिक्षा क्षेत्रका चुनौती, सम्भावना र सुधारका उपायमाथि बहस गर्ने बताएको छ ।

क्याम्पस प्रमुख डम्बर खड्काका अनुसार सम्मेलनमा १ सय १० जना अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरूले शिक्षा क्षेत्रमा गरेका अनुसन्धानमूलक गतिविधि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  तीमध्ये ३० जनाले प्रत्यक्ष उपस्थित भएर र ८० जनाले भर्चुअल माध्यमबाट आफ्नो अनुसन्धान प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागी अनुसन्धानकर्ताले मुख्यतः तीन विधामा आधारित अनुसन्धान प्रस्तुत गर्ने बताइएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित खोजमूलक अध्ययन, अनुभव र नवीन अभ्यासहरू आदानप्रदान गरिने क्याम्पस प्रमुख खड्काले जानकारी दिनुभयो ।  आयोजकका अनुसार यसले कर्णालीमा गुणस्तरीय शिक्षाको बहसलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

राष्ट्रिय सम्मेलनमा सह आयोजकका रूपमा मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, न्यु मुनलाइट बोर्डिङ स्कुल र विजयश्वरी बोर्डिङ स्कुल रहेका छन् । सम्मेलनको पहिलो दिन उद्घाटन कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुति, मयुर नाच तथा शुभकामना मन्तव्य कार्यक्रम भएका थिए ।  शिक्षाको विकास, अनुसन्धान संस्कृतिको विस्तार र कर्णालीको शैक्षिक उन्नयनका लागि सम्मेलन महत्त्वपूर्ण बन्ने अपेक्षा आयोजकले गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update