चलचित्रको पर्दामा देखिने सस्पेन्स र ट्वीस्टले भरिएको एउटा ‘क्राइम ड्रामा’ वास्तविक जीवनमा मञ्चन गर्ने प्रयास गर्दा एक जना सवारी चालक आफैँ प्रहरीको खोरमा पुगेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भएको एउटा लुटपाटको घटनाको अनुसन्धान गर्दै जाँदा, घटना अरू कसैले नभई स्वयं गाडी चालकले नै रचेको एक फिल्मी प्रपञ्च भएको खुलासा भएको छ ।
गज्जबको योजना, नक्कली आक्रमण र ११ लाख रुपैयाँ पचाउने दाउ-तर, प्रहरीको सूक्ष्म अनुसन्धानका अगाडि चालकको यो 'सुपर हिट' बन्ने सपना 'फ्लप' साबित भएको छ ।
यसरी सुरु भयो याेजना
घटना जेठ ५ गते रातिको हो । आठबिसकाेट ९ राडीबाट वडा नम्बर १ काे खेततर्फ जाँदै गरेको बा १३ च २१५७ नम्बरको डबलक्याप बोलेरो जिपका चालक, आठबिसकोट-१ का २५ वर्षीय मुकेश बि.क.ले प्रहरीमा एउटा सातो उड्ने सूचना दिए । उनका अनुसार-आठबिसकोट-१ रोकाजा स्थित भित्री सडक खण्डमा ४/५ जना अज्ञात नकाबधारी केटाहरूले बाटो छेके, उनीमाथि कुटपिट गरे र गाडीमा रहेको दुई वटा मोबाइल तथा पैसाको झोला लुटेर फरार भए ।
सुरुमा हेर्दा घटना सामान्य लुटपाटकै जस्तो देखिन्थ्यो । तर, कहानीमा ट्वीस्ट त्यति बेला आयो, जब प्रहरीले घटनाको चुरो खोतल्न थाल्यो ।
११ लाख ३५ हजारको त्यो 'कनेक्सन'
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा खुल्न आयो कि, सोही नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक खडक बुढाले आफ्नी श्रीमतीलाई दिनका लागि चालक मुकेश बि.क.को जिम्मा लगाई रु एघार लाख ३५ हजार नगद पठाएका थिए । त्यत्रो मोटो रकम हातमा परेपछि चालक मुकेशको मनमा 'पाप' पलायो । उनले सोचे-किन यो पैसा पुर्याइदिने ? बरु एउटा गज्जबको लुटपाटको नाटक रचेर यो रकम आफैँ हजम पारिदिन्छु !
योजनाबद्ध नाटक र नक्कली लुटपाट
पैसा पचाउनका लागि मुकेशले 'झारमारे' भन्ने स्थानमा यात्रुहरू नास्ता खान ओर्लेको मौका छोपे । उनले त्यहीँ आफ्ना केही साथीहरूलाई भेटेर योजना सुनाए- "गाडीमा मोटो रकम छ, ढुक्कले लुट्ने नाटक गरौँ ।"
योजना मुताविक, गाडी आठबिसकोट-२ तितिमिरे जङ्गलमा पुगेपछि चालक मुकेशले आफैँ गाडी रोके र बाटो 'ब्लक' भएको बहाना बनाए । उनी बाटो खुलाउन ओर्लने बित्तिकै अनुहारमा मुकुन्डो (मास्क) लगाएका ४ जना व्यक्तिहरू फिल्मी शैलीमा जङ्गलबाट निस्किए । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार उनीहरूले चालकमाथि हातपात गरेजस्तो गरे र गाडीको सिट नजिकै राखिएको ११ लाख रुपैयाँको झोला लिएर जङ्गलतर्फ कुलेलाम ठोके ।
क्लाइमेक्स: प्रहरीको 'थ्री-डी' अनुसन्धान र पर्दाफास
सवारी चालक आफैँ पीडित बनेर उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) को टोली अनुसन्धानमा जुट्यो । तर, चालक मुकेशले जतिसुकै चतुरता अपनाए पनि प्रहरीको तिखो नजरबाट बच्न सकेनन् । बयानका क्रममा कुरा बाझिएपछि र प्राविधिक विश्लेषण गर्दा चालक आफैँ मुख्य योजनाकार रहेको रहस्य खुलेकाे प्रहरी प्रमुख वेदबहादुर पाैडेल बताउनुहुन्छ ।
उहाँका अनुसार प्रहरीले तत्कालै एक्सन लिँदै घटनास्थल नजिकैको जङ्गलमा लुकाइराखेको अवस्थामा लुटेको भनिएको रकममध्ये ११ लाख तीस हजार बरामद गर्न सफल भयो ।
`निर्देशक´ चालक नै खोरमा !
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार, आफ्नै नाटकमा आफैँ फसेका मुख्य योजनाकार चालक मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । फिल्ममा जस्तै अभिनय गरेर लाखौँ रकम कुम्ल्याउने योजना बुन्ने मुकेश अहिले हिरासतको चिसो छिँडीमा आफ्ना बाँकी साथीहरूको नाम ओकलिरहेका छन् । घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनुभयाे ।
यो घटनाले देखाएको छ कि-अपराधको स्क्रिप्ट जतिसुकै बलियो भए पनि, कानुनको 'क्लाइमेक्स' जहिले पनि अपराधीको विरुद्धमै हुन्छ । जिल्ला प्रहरी प्रमुख पाैडेलले प्रहरीकाे सुक्ष्म र समयमै लिएकाे सतर्कताका कारण घटनाबारे पत्ता लगाउन सफल भएकाे बताउनुभयाे । याे प्रहरीकाे ठुलाे सफलता रहेकाे उहाँकाे भनाई छ ।







-1759842583.jpg)