Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपाको जिल्ला अधिवेशन जेठ २४ गते, पालिकाको अधिवेशन कहिले ? 

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले जेठ महिनाभित्र पालिका तथा जिल्ला अधिवेशन गर्ने भएको छ ।  पार्टीको जिल्ला समितिले गरेको निर्णय अनुसार जिल्लाका सबै स्थानीय तहमा पालिका अधिवेशन र जिल्ला अधिवेशन जेठ महिना भित्रै गर्ने निर्णय गरेको हो । जिल्ला सभापति मान बहादुर शाहीका अनुसार आज मुसिकोट  १ खलङ्गामा बसेको पार्टीको बैठकले पालिका अधिवेशन र जिल्ला अधिवेशनको मिति तय गरेको हो । 

पार्टी सभापति शाहीका अनुसार जेठ १६ गते चौरजहारी नगरपालिकाको अधिवेशन आयोजना गरिएको छ । त्यस्तै १७ गते आठविसकोट नगरपालिकाको राडीमा, १८ गते सानीभेरी गाउँपालिकाको सिम्लीमा, १९ गते बाँफिकोट गाउँपालिकाको छिनखेतमा, २० गते त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा र २१ गते मुसिकोट नगरपालिकाको खलङ्गामा अधिवेशन आयोजना गरिएको छ । 

पालिका अधिवेशन सकिएपछि जेठ २४ गते जिल्ला अधिवेशन मुसिकोट १ खलङ्गामा आयोजना गरिएको सभापति शाहीले जानकारी दिनुभयो । युवाहरूलाई पार्टीको नेतृत्व लिन तयार हुन आग्रह गर्दै अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टीले आह्वान गरेको छ । पार्टीले अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै सङ्गठन विस्तार र युवाको सहभागिता बढाउने लक्ष्य राखेको रास्वपा रुकुम पश्चिमले जनाएको छ । 

रास्वपा केन्द्रले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । जिल्लामा सांसद सुरेन्द्र चौधरी, केन्द्रिय विभागका दिपक गौतम, गणेश बहादुर मल्ल र भोला नाथ शर्मा र समन्वयका लागि केन्द्रीय सदस्य प्रदिप पाण्डेलाई जिम्मेवारी तोकिएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update