Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती साहित्य परिषद्को भर्चुअल साहित्य कार्यक्रमको ८ औँ शृङ्खला सम्पन्न 

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको नियमित भर्चुअल साहित्य कार्यक्रमको ८ औँ शृङ्खला सम्पन्न भएको छ । हिजो बेलुकी ७ः३० देखि ९ बजेसम्म उक्त कार्यक्रम सञ्चालन भएको राप्ती साहित्य परिषद् रुकुम पश्चिमका सचिव ओमबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा साहित्यकार नेपालगन्ज निवासी पुष्पा सुवेदीले १५ वटा मुक्तक वाचन गर्नुभएको थियो । उक्त मुक्तकको समीक्षा वरिष्ठ साहित्यकार तथा गजल विधामा विद्यावारिधि गर्नुभएका डा. टिकाराम उदासीले गर्नुभएको थियो । 

राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. टिकाराम उदासीको प्रमुख तथा कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा र साहित्यकार पूर्ण ओलीको विशेष आतिथ्यता रहेको थियो । 

१ दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रममा राप्ती साहित्य परिषद् रुकुम पश्चिमका सल्लाहकार गिरीप्रसाद बुढाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो । 

यो कार्यक्रम महिनामा २ पटक १ गते र १५ गते सञ्चालन हुने गरेको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले यस कार्यक्रमको सुुरुवात गत पुष १ गतेबाट गरेको हो । यसअघि भौतिक कार्यक्रममा विशेष जोड दिएको परिषद्ले पछिल्लो समय भने भर्चुअल कार्यक्रमको समेत सुरुवात गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update