Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा चित्रकला प्रतियोगिता सम्पन्न  

१९ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा रुकुम पश्चिममा आयोजित जिल्ला स्तरीय विद्यालय तहका विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय, रुकुम पश्चिमको आयोजनामा यमुना नन्द नमुना माध्यमिक विद्यालय, मुसिकोट–५ सेरीगाउँमा “विज्ञान प्रदर्शनी तथा चित्रकला प्रतियोगिता” भएकाे हो । 

कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख र प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालयका प्रमुख इ. मितलेशकुमार यादवले गर्नुभएको थियो । 

विज्ञान प्रदर्शनीतर्फ विद्यार्थीहरूले वैज्ञानिक सोच, नवप्रवर्तन तथा सृजनशीलता झल्किने विभिन्न सामग्री प्रस्तुत गरेका थिए । भने चित्रकला प्रतियोगितामा सामाजिक, शैक्षिक तथा राष्ट्रिय विषयवस्तु समेटिएका आकर्षक चित्रहरू प्रदर्शन गरिएको थियो । प्रतियोगिता अन्तर्गत चित्रकलामा विजयश्वरी बोर्डिङ स्कुलका शिरीष खड्का र विज्ञान प्रदर्शनी तर्फ हिमालय नमुना माध्यमिक विद्यालय, चौरजहारीकी करुणा के.सी. र प्रमीला ओली प्रथम स्थान हासिल गरेका छन् ।

सामाजिक विकास कार्यालयले छनोट भएका विद्यार्थीहरूलाई प्रदेश स्तरीय कार्यक्रममा सहभागिताका लागि सिफारिस गरिएको सामाजिक विकास कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै विज्ञान, कला र सृजनशीलताप्रति थप प्रेरणा मिलेको सहभागी विद्यालयका शिक्षकहरूले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update