रुकुम पश्चिमका सरोकारवालाहरूले गणतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । १९ औँ गणतन्त्र दिवसका अवसरमा मुसिकोट खलङ्गामा भएको कार्यक्रममा बोल्ने राजनीतिक दल तथा अन्य व्यक्तिहरूले गणतन्त्रलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन्
गणतन्त्र आएको २ दशक पुग्नै लाग्दा पनि देशवासीले राहतको महसुस गर्न नपाएको वक्ताहरूको भनाई थियो । भ्रष्टाचार, गरिबी, महँगी, बेरोजगारीले देशलाई थप थिलथिलो बनाउँदै लगेकोले गणतन्त्र आएकोमा देशवासीमा खासै फरकपन नदेखिएको वक्ताहरूले बताए ।
राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको र त्यसपछि सङ्घीयता लागु हुँदा पनि नागरिकहरूका निराशा कम नहुनु दुःखद रहेको उनीहरूको भनाई थियो । लामो सङ्घर्ष, ठुलो त्याग र बलिदानबाट प्राप्त गणतन्त्र सङ्कटमा रहेकोले परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा समेत राजनीतिक दलका प्रतिनिधिहरूले जोड दिए ।
अहिले एक थरी शक्ति प्राप्त उपलब्धिहरूलाई समाप्त पार्न लागिरहेको भन्दै उनीहरूले यसमा सजग हुनुपर्ने र गणतन्त्रलाई थप सुदृढ गर्दै देश र जनताको विकास र समृद्धिको यात्रामा सबै होमिनुपर्नेमा जोड दिएका थिए । जनताको निराशालाई कम गर्न नसकिए व्यवस्था नै सङ्कटमा पर्ने भन्दै उनीहरूले चिन्ता समेत व्यक्त गरे ।
खलङ्गाको बाल मन्दिरमा दिवस विशेष औपचारिक कार्यक्रम पूर्व खलङ्गा बजारमा प्रभात फेरि निकालिएको थियो । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी तथा शिक्षक, पत्रकार, नागरिक समाज, राजनीतिक दल लगायत आम नागरिकको उपस्थितिमा खलङ्गा बजारमा प्रभात फेरि निकालिएको हो ।
-1780040167.jpeg)
कालिका स्थानबाट सुरु भएको प्रभात फेरि खलङ्गा बजार परिक्रमा गर्दै बाल मन्दिरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति मानबहादुर शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, नेपाली काँग्रेसका उपसभापति हर्कसिंह खत्री, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक सचिन रोका, राष्ट्रिय सभाका पूर्व सदस्य ठगेन्द्रप्रकाश पुरी लगायतको आतिथ्यता रहेको थियो ।
जिसस उपप्रमुख देवबहादुर विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी जीवन खड्काले गर्नुभएको थियो । गणतन्त्र दिवसका अवसरमा जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । हिजो मुसिकोट ५ शेरिगाउँको यमुना नन्द नमुना माविमा विज्ञान प्रदर्शनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
आज दिवस विशेष कार्यक्रम भएको छ भने भोली मुसिकोट २ को पशुपति माविमा वृक्षारोपण कार्यक्रम हुने गणतन्त्र दिवस मूल समारोह समितिले जानकारी गराएको छ ।







-1759842583.jpg)