Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै, के छन् कार्यक्रम ? 

रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने भएको छ । गणतन्त्र दिवस मूल समारोह समितिले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । जिल्लामा जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम हुने छन् । 

दिवसको अवसरमा जेठ १४ र १५ गते दुई दिनसम्म जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयहरूको छत तथा परिसरमा निर्धारित आकारका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने तथा दुई दिनै साँझ सम्पूर्ण कार्यालयहरूमा दिपप्रज्वलन गर्ने तथा जिल्लावासीलाई घरघरमा दिपप्रज्वलन गर्न गराउन राजनीतिक दल, जनप्रतिनिधिहरूले आग्रह गरिएको छ । 

जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम पनि हुने भएको छ । सामाजिक विकास कार्यालयले जेठ १४ गते विद्यालय तहमा विज्ञान, चित्रकला लगायतका उपयुक्त विधामा जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम आयोजना गर्ने निर्णय भएको गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले जानकारी दिनुभयो । 

त्यस्तै दिवसको मुख्य दिन जेठ १५ गते जिल्लास्थित राजनीतिक दलहरू, सरकारी निकाय, संघ संस्थाहरुका कर्मचारी, विद्यार्थीहरूको एवम् जिल्लावासीको सक्रिय सहभागितामा बिहान ७ बजे मुसिकोट नगरपालिका १, कालिका मन्दिर प्राङ्गणबाट प्रभात फेरी कार्यक्रम सुरु गरी बाल मन्दिरमा सभा आयोजना गर्ने निर्णय भएको छ । 

जसका लागि राजनीतिक दलहरूले आ–आफ्ना दलका कार्यकर्ताहरू कार्यक्रममा उपस्थित हुने व्यवस्था मिलाउने, शिक्षा विकास तथा समन्वय इकाइले जिल्ला सदरमुकामस्थित विद्यालयहरूका विद्यार्थीहरूलाई कार्यक्रममा उपस्थितिका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने, जिल्लास्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरूले आ–आफ्ना मातहतका कर्मचारीहरूको अनिवार्य उपस्थिति गराउने, गणतन्त्रका विविध विषयमा भिडियो डकुमेन्ट्री निर्माण गरी प्रसारण गर्ने र सभाको सम्पूर्ण व्यवस्थापन मुसिकोट नगरपालिकाले गर्ने निर्णय भएको छ । 

दिवसकै अवसरमा रेडियो सानीभेरीले जेठ १५ गते गणतन्त्रसँग सम्बन्धित विषयमा राजनीतिक दलहरूका प्रतिनिधिहरुबीच रेडियो संवाद कार्यक्रम आयोजना गरी प्रसारण गर्ने र वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । डिभिजन वन कार्यालयले १६ गते मुसिकोट २ स्थित पशुपति मा.वि. को खुला क्षेत्रमा वृक्षारोपण गर्न आवश्यक व्यवस्थापन गर्ने प्रमुख गौतमले जानकारी गराउनुभयो । 

साथै जिल्लाका सबै स्थानीय सरकारहरूले पालिका तथा वडा स्तरमा विविध कार्यक्रम सञ्चालन गरी भव्य रूपमा गणतन्त्र दिवस–२०८३ मनाउने निर्णय समेत भएको छ । मंगलबार जिल्ला समन्वय समितिको सभा हलमा बैठक बसेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update