Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सरकारी कार्यालयमा छड्के अनुगमन : ४३ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ। मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीको नेतृत्वमा गरिएको अनुगमनमा १० वटा सरकारी कार्यालयको सेवा प्रवाह, कर्मचारी उपस्थिती तथा कार्यालय व्यवस्थापनको अवस्थाबारे निरीक्षण गरिएको हो । अनुगमनका क्रममा २५८ जना कर्मचारी उपस्थित रहेको भेटिएको छ भने ४३ जना कर्मचारी अनुपस्थित रहेको  पाएको छ ।

त्यस्तै २९ जना कर्मचारी काज तथा विदामा रहेको पाइएको छ।अनुगमन टोलीले कर्मचारी पोशाक तथा परिचयपत्र प्रयोगमा समेत विशेष चासो दिएको थियो । निरीक्षणका क्रममा ३१ जना कर्मचारीलाई अनिवार्य रूपमा कार्यालय पोशाक प्रयोग गर्न सचेत गराइएको छ। छड्के अनुगमन शिक्षा विकास तथा समन्वय इकाइ, डिभिजन वन कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, सामाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय तथा मुसिकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा गरिएको थियो।

अनुगमनपछि कार्यालयहरूलाई नियमित समय पालना गर्न, काज वा विदा स्वीकृत गरेर मात्र बस्न तथा खटिन, कर्मचारी पोशाक र परिचयपत्र अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। त्यस्तै सेवाग्राहीप्रति सेवामैत्री व्यवहार अपनाउन, कार्यालय तथा परिसर सरसफाइमा ध्यान दिन, हाजिरी अभिलेख अद्यावधिक राख्न तथा वेबसाइट र सामाजिक सञ्जाललाई सक्रिय बनाएर सूचनामा नागरिकको पहुँच सहज बनाउन प्रशासनले निर्देशन दिएको छ ।

ई–हाजिरी प्रणाली जडान नगरेका कार्यालयलाई यथाशीघ्र जडान गर्नसमेत निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update