Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा गत वर्षकै जति धान उत्पादन

रुकुम पश्चिममा यो वर्ष गत वर्षकै हाराहारीमा धान उत्पादन भएको छ । यो वर्ष जिल्लामा गत वर्षको तुलनामा खासै प्रगति नभएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष जिल्लामा १३ हजार ७५ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा ३ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती भएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दिवाकर गौतमले जानकारी दिनुभयो ।

प्रति हेक्टर ४.२८ मेट्रिक टनका दरले धान उत्पादन भएको बताइएको छ । गत वर्ष पनि यति नै क्षेत्रमा धान खेती भएकामा १३ हजार ७१ मेट्रिक टन धान उत्पादन भएको उहाँले बताउनुभयो । यो वर्ष ४ मेट्रिक टन बढी धान उत्पादन भएको देखिएको उहाँको भनाई छ । गत वर्ष र यो वर्ष धान उत्पादन उस्तै देखिएको उहाँले बताउनुभयो । मनसुन सकिए पछिको वर्षाले विभिन्न ठाउँमा क्षति गरे पनि जिल्लामा भने खासै क्षति नभएको उहाँले बताउनुभयो ।

जिल्लामा ठाउँ तथा हावापानी अनुसार फरक फरक जातको धान खेती हुने गरेको छ । पालिका पालिकामा केही कृषकलाई नमुना मानेर धान उत्पादन निकाल्ने गरिएको छ । जिल्लामा धान प्रमुख खाद्य बालिकै रूपमा रहेको छ । जिल्लाका सबै पालिकामा धान उत्पादन हुने गरेको छ । हरेक वर्ष मौसमले धान उत्पादनलाई असर पार्ने गरेको छ ।

समयमै पानी परेर समयमै रोपाइ हुँदा तथा हावाहुरी तथा पानीले असर नगरेको वर्ष धान उत्पादन राम्रो हुने गरेको छ भने मौसम प्रतिकुल भएमा उत्पादन घट्ने गरेको छ । यसैबिच जिल्लामा बर्सेनि उत्पादन खेती हुने क्षेत्रफल घट्दो छ । खेतीयोग्य जमिनमा बजारीकरण बढ्दा उत्पादनशील क्षेत्रफल घट्दो रहेको कृषि विकास कार्यालयको भनाई छ ।   

 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update