रुकुम पश्चिममा झन्डै ७ करोड बराबरको बीउ बिजनको कारोबार भएको छ । बितेको आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरबाट ६ करोड ९७ लाख ३७ हजार ४० रुपैयाँ बराबरको बीउ बिजनको कारोबार भएको हो । जिल्लाका ६ वटै स्थानीय तहहरूमा उत्पादन भएको उन्नत काउली, हाइब्रिड काउली, रायो, व्याज, केराउ, मुला, पालुङ्गो, चम्सुर, सलगम लगायतका बीउ उत्पादनबाट कुल ६ करोड ९७ लाख ३७ हजार ४ रुपैयाँ बराबरको कारोबार भएको कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार उन्नत काउलीको बीउबाट २० लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै हाइब्रिड काउलीको बीउबाट ८४ हजार, रायोको बीउबाट ४३ लाख ४० हजार ४ सय, प्याजको बीउबाट २ करोड ५९ लाख ९७ हजार ४ सय रुपैयाँ बराबरको कारोबार हुँदा मुलाको बीउबाट १ करोड ९५ लाख ७८ हजार, केराउको बीउबाट २० लाख २ हजार १ सय ४० र चम्सुर बीउ १७ लाख ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तैगरी पालुङ्गोको बीउबाट १६ लाख ७० हजार ४ सय, सलगमको बीउबाट १ लाख ५० हजार, चौमासे सिमीको बीउबाट ३३ लाख ५० हजार, बोटे सिमीको बीउबाट २१ लाख ७५ हजार, बकुल्लाको बीउबाट १२ लाख १२ हजार, गाजरको बीउबाट ४ लाख, स्वीचचार्डको बीउबाट ४० हजार र मकैको ४ लाख ९५ हजार रुपैयाँ गरेर कुल ६ करोड ९६ लाख ३६ हजार ४ सय रुपैयाँको कारोबार भएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त वर्ष जिल्लामा कुल २ लाख ५८ हजार ३ सय ८६ किलो अर्थात् २ हजार ५ सय ८३ दशमलव ८६ क्विन्टल बीउ उत्पादन भएको थियो । समग्रमा बीउ उत्पादन ६ वटै स्थानीय तहमा हुने गरे पनि विशेष गरी मुसिकोट नगरपालिका ३ माछिमी र १३ सादनचौर, चौरजहारी नगरपालिकाको खोलागाउँ लगायतका ठाउँमा बढी तरकारीको बीउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।






-1759842583.jpg)
