रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट सञ्चालनमा रहेको सामुदायिक रेडियो आफ्नो एफ.एम ९० थोप्लो ४ मेगाहर्जले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
मानव विकास तथा सामुदायिक सेवा र चौरजहारी सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो आफ्नो एफ.एम.ले वार्षिकोत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका ६० जना बिरामीहरूलाई फलफूल वितरण सहित स्वास्थ्य लाभको कामना गरेको छ ।
रेडियोले सोही अवसरमा चौरजहारी नगरपालिका भित्रका, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी, एकल महिला र ज्येष्ठ नागरिकहरूलाई डिजिटल रेडियो सेट र न्यानो कपडा वितरण गरेको छ ।
रेडियोले १० जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा, फाइवर सिरक र १८ जनालाई डिजिटल रेडियो सेट हस्तान्तरण गरेको रेडियोका प्रबन्ध निर्देशक गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रम स्थलसम्म पुग्न नसक्ने उमेरले ६० वर्षदेखि १ सय २ वर्ष उमेर समूह तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई भने घरमै पुगेर मानव विकास तथा सामुदायिक सेवाका रेडियो प्रसारण विभाग संयोजक विजय मानन्धरले न्यानो कपडा तथा रेडियो सेट हस्तान्तरण गर्नुभयो ।
उहाँका अनुसार आइतबार चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १ स्याउलीवजारवाट नियमित प्रसारणमा रहेको रेडियो आफ्नो एफ.एफ.ले दैनिक १७ घण्टा प्रसारण सेवा दिदै आइरहेको छ ।
२०७३ साल पौष २७ गते स्थापना भएको रेडियोले समाचार, सूचना, मनोरञ्जन लगायतका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । रेडियोले विगतमा पनि शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर लगायतका सामग्री वितरण गरिसकेको छ ।
त्यस्तै रेडियोले भूकम्प पीडित परिवारहरूलाई खाद्यान्न वितरण, रक्तदान, पत्रकारिता तालिम, न्यानो कपडा वितरण, जिल्ला कारागार रुकुम पश्चिममा रहेका कैदी वन्दीहरूलाई फलफूल एवं उत्प्रेरणामूलक पुस्तक हस्तान्तरण, पत्रकारहरूका लागी टर्चलाइट वितरण लगाएका कार्यक्रमहरू समेत गरिसकेको छ ।
आइतबार आयोजित फलफूल वितरण, न्यानो कपडा तथा रेडियो सेट वितरण कार्यक्रममा रेडियोमा कार्यरत कर्मचारी पत्रकार, चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, रेडियोका संस्थापक विजय मानन्धर लगायतको सहभागिता रहेको थियो ।
रेडियोले वार्षिकोत्सवको अवसरमा सहयोगी सबैलाई धन्यवाद समेत दिएको छ । साथै स्थापना दिवसको अवसरमा रेडियो १ सय वाट बाट क्षमता बढाई ५ सय वाटबाट प्रसारण सेवा सुरु गरेको प्रबन्ध निर्देशक रेग्मीले जानकारी दिनुभयो ।





-1759842583.jpg)