Kakhara सबैको खबर सम्पूर्ण खबर
नगरपालिकाले भन्यो असारसम्म फोहोर फाल्न दिनुहाेस, स्थानीयले भने एक दिन दिन्नौँ

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को सतिपाेलेमा फोहोर फाल्न रोकेका स्थानीय र मुसिकोट नगरपालिकाका बिचमा भएको छलफल निष्कर्ष विहीन भएको छ । गत पुस २१ गतेदेखि स्थानीयले फोहोर फाल्न रोक लगाएका थिए । 

उक्त समय देखि मुसिकोटका विभिन्न बजारबाट फोहोर उठेको छैन । स्थानीयको अवरोध पछि बजारमा फोहोर थुप्रिन थालेपछि नगर कार्यपालिकाले उप प्रमुख विमलकुमार पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । 

उक्त समिति र स्थानीय बिचमा हिजो मुसिकोट नगरपालिका वडा नम्बर २ को कार्यालयमा छलफल भएको थियो । तर उक्त छलफल निष्कर्ष विहीन बनेको उपप्रमुख विमलकुमार पुनले बताउनुभयो ।

वडा नम्बर १ को निपानेमा डम्पिङ साइड निर्माण अन्तिम चरणमा पुगेकोले त्यहाँको काम सकिँदासम्म फोहोर फाल्न दिन अनुरोध गरेको तर स्थानीय त्यसमा सहमत नभएको उहाँको भनाई छ । अब नगर कार्यपालिकामा छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । 

यो जिल्लाकै समस्या भएकोले जिल्ला स्तरीय छलफलको समेत आवश्यकता देखिएको उहाँले बताउनुभयो । स्थानीय उक्त ठाउँमा फोहोर फाल्न नदिने अडानमा अडिग छन् । केही समय भन्दा भन्दै नगरपालिकाले झुक्क्याएर १३ वर्ष फाेहाेर फालेको र अब १ दिन पनि फोहोर फाल्न नदिने छलफलमा सहभागी स्थानीय रमेश खड्काले बताउनुभयो ।

 `नगरपालिकाले फेरि पनि हामीलाई झुक्क्याउन खोजेको छ, असारसम्म फाल्न दिनुहाेस भन्नुहुन्छ, यस्ता समय हामीले कति दियौँ कति, तर अब हामी एक दिन पनि समय दिन्नौ´ उहाँले भन्नुभयो ।

प्रदूषण बढेको र नगरपालिकाले बारम्बार आश्वासन दिएर फोहोर फालिरहेको बन्दै स्थानीयले आज देखि फोहोर फाल्न रोकेका हुन् । 

मुसिकोट नगरपालिकाले विगत लामो समय देखि उक्त ठाउँमा फोहोर फालिरहेको छ । सुरुमा स्थानीयले बसपार्कका लागि भन्दै मुसिकोट नगरपालिकालाई जग्गा सहयोग गरेका थिए । तर नगरपालिकाले उक्त ठाउँ डम्पिङ साइडका रूपमा प्रयोग गरिरहेको छ । यस विषयमा स्थानीले सुरुबाटै असन्तुष्टि जनाउँदै आएका छन् ।

यसअघि पनि पटक पटक स्थानीयले फोहोर फाल्ने कार्यमा अवरोध समेत पुर्‍याइरहेका थिए । तर नगरपालिकाले अर्को ठाउँमा व्यवस्थापन भइरहेकोले केही समयको लागि उक्त ठाउँ प्रयोग गर्न दिन भन्दै उक्त ठाउँ प्रयाग गरिरहेको थियो ।

यस ठाउँमा फोहोर फाल्दा वडाका धेरै टोल बस्नै नसकिने गरी प्रभावित बनेको स्थानीयको भनाई छ । स्थानीय नरबहादुर खड्काले फोहोरका कारण तल तलसम्मका गाउँ पनि गन्ध र फोहोर जलाइदा उड्ने दूषित धुवाँले ढाकिएको बताउनुभयो । भान्सा सम्मै प्रदूषण फैलिदा स्थानीयमा विभिन्न स्वास्थ्य समस्याहरू समेत देखिन थालेको उहाँको भनाई छ । 

यस अघि कहिले पनि नदेखिएका स्वास्थ्य समस्याहरू स्थानीयलाई देखिएको खड्काले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update