Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र रुकुम पूर्वमा एमालेले प्रलोपालाई सघाउने

नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच तालमेलको सहमति भएको छ । आइतबार दुई पार्टीबिच तालमेलको सहमति भएको हो । सहमति अनुसार एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने भएको छ । 

तीन बुँदे सहमति पत्रको पहिलो बुँदामा प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मतदान गर्ने उल्लेख छ ।

यस्तै दोस्रो बुँदामा कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा भोट हाल्ने छ । 

सहमतिको तेस्रो बुँदामा दुवै पार्टीहरूले सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने उल्लेख छ । सहमति पत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाबाट अध्यक्ष दुर्गा सोबको हस्ताक्षर छ ।

रुकुम पश्चिममा अघिल्लो निर्वाचनमा शर्मा भारी मतका साथ तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी हुनुभएको थियो । तर, निर्वाचन अघि भएको माओवादी केन्द्र र नेकपा एसको एकतामा नगएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनाउनुभएको थियो । अहिले सोही प्रलोपाबाट शर्मा चुनावी मैदानमा होमिँदा एमालेसँग तालमेलको सहमति भएको हो । 

अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार बन्नुभएको थियो । अहिले पनि देवकोटा नै उम्मेदवार हुनुहुन्छ । देवकोटाले २०७९ को निर्वाचनमा १२ हजार ९६९ मत प्राप्त गर्नुभएको थियो । शर्माले ३९ हजार ५४९ मत पाउनुभएको थियो । 

समानुपातिकको मत हेर्दा अघिल्लो निर्वाचनमा एमालेले रुकुम पश्चिममा ८ हजार भन्दा बढी मत पाएको थियो । एमालेले रुकुम पश्चिमबाट २०७९ को निर्वाचनमा ८ हजार ७६९ मत पाएका थियो । यस्तै कांग्रेसले ८ हजार ७६६ मत पाएका थियो । 

अघिल्लो पटक कांग्रेसको उम्मेदवार नहुँदा यो पटक कांग्रेसका उम्मेदवार रहेका छन् । कांग्रेसका राजु केसीको उम्मेदवारी परेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update