नेकपा एमाले रुकुम पश्चिमले नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीका बिचमा भएको चुनावी तालमेललाई अनुमोदन गरेको छ । आज बसेको नेकपा एमाले रुकुम पश्चिमको सचिवालय बैठकले केन्द्रीय रूपमा भएको चुनावी तालमेलको सहमति अनुसार अघि बढ्ने निर्णय गरेको हो ।
सचिवालय समिति बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय बागबजारमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाले दुई पार्टीले केन्द्रीय स्तरमा गरेको सहमति जिल्लामा अक्षरशः पालना गर्ने निर्णय भएको बताउनुभयो ।
‘एमाले विधिमा विश्वास गर्ने पार्टी हो, विचारमा लयस नेता तथा कार्यकर्ताहरू एमालेमा छन्, हामीले जिल्लामा केन्द्रीय सहमति अनुसार इमानदारीपूर्वक अघि बढ्ने निर्णय गरेका छौँ,’ उहाँले भन्नुभयो । अब एमालेको समग्र टिम प्रत्यक्ष तर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई जिताउन लाग्ने र समानुपातिक तर्फ भने पार्टीका लागि भोट माग्न जनताकोमा जाने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘प्रत्यक्ष तर्फ आँखा निर्वाचन चिन्हमा मत माग्न र समानुपातिक तर्फ सूर्य चुनाव चिन्हमा मत माग्न सिङ्गो पार्टी कमिटी लाग्छ, सोही अनुसार अघि बढ्न म नेता कार्यकर्ताहरूलाई अनुरोध पनि गर्छु ।’’
साथै बैठकले एमालेलाई बलियो बनाउनका लागि लाग्ने निर्णय समेत भएको उहाँले बताउनुभयो । एमालेबाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा नन्दराम शर्मा उम्मेदवार हुनुहुन्थ्यो । अब सहमति अनुसार उहाँको उम्मेदवारीलाई एमालेले निष्क्रिय पारेर प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्मालाई जिताउन लाग्ने छ ।
माघ ११ गते केन्द्रीय स्तरमा एमाले र प्रलोपाबिचमा चुनावी तालमेल गर्ने निर्णय भएको थियो । जसअनुसार रुकुम पश्चिम र रुकुम पूर्वमा एमालेले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रलोपालाई सघाउने भनिएको थियो । रुकुम पश्चिमले केन्द्रीय सहमति अनुमोदन गरे पनि रुकुम पूर्वले भने अस्वीकार गरेको छ । रुकुम पूर्वमा एमाले आफ्नै उम्मेदवारलाई जिताउन लाग्ने छ ।





-1759842583.jpg)