Kakhara सबैको खबर सम्पूर्ण खबर
न्यु मुन लाइट बाेर्डिङमा खाद्य मेलाः विद्यार्थी आफैले खाना पकाएर बिक्री गरे
खाद्य स्टलको अबलोकन गर्दै मुसिकोट नगर प्रमुख केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा अवस्थित न्यु मुन लाइट बोर्डिङ स्कुलले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा शैक्षिक पर्दशनी तथा खाद्य मेला  संचालन गरेको छ । स्कुलले २१ औं वार्षिकोत्सवको असरमा एक दिने शैक्षिक प्रदर्शनी तथा खाद्य मेला संचालन गरेको हो । 

खेलकुद तथा सांस्कृतिक कार्यक्रम भने साताव्यापी रुपमा संचालन हुने स्कुलले जनाएको छ । विद्यार्थीहरूले आफ्नै लगानीमा शैक्षिक सामग्री प्रदर्शनी तथा खाद्य मेला राखेका हुन् । यसमा विद्यालयले सहजीकरण गरेको छ । विद्यार्थीहरू आफैले विभिन्न प्रकारका खाना पकाए भने आफैले बिक्री गरे । विभिन्न समूह विभाजन गरिएको थियो भने गोला प्रथा मार्फत खानाको परिकारको जिम्मा दिइएको थियो । 

सोही अनुसार विद्यार्थीहरूले खाने कुरा तयार पारेर बिक्रीका लागि राखेका थिए । स्कुल परिसरमा १६ वटा खाद्यान्न स्टल राखिएको थियो । खाद्य मेला हेर्न विद्यालयमा पुगेका अभिभावक, शिक्षक तथा अन्य व्यक्तिहरूले उक्त परिकार किनेर खाएका छन् । विद्यार्थीहरूलाई दिनभर खाना पकाउन र बिक्री गर्न भ्याई नभ्याई थियो । आफूले तयार पारेको खाना बिक्री हुँदा विद्यार्थीहरू खुसी छन् । बिद्यार्थीहरुलाई शिक्षकहरुले सघाएका थिए ।

आफ्नो समूहलाई बर्गरको स्टल भाग परेको र सोही अनुसार परिकार तयार पारेर बिक्री गरेको कक्षा ११ मा अध्यनरत छात्रा सनशिला बुढाले बताउनुभयो  । आफुहरुले बनाएको परिकार ग्राहकले मिठो मानि खाएको देख्दा खुसी लागेको र थप हौसला मिलेको उहाँले बताउनुभयो । पढाई मात्र भन्दा पनि विद्यार्थीहरूलाई यस्ता कार्यक्रमले सृजनशील बन्न र ब्यवहारिक बन्न सहयोग पुग्ने साथै सीप विकास हुने उहाँले बताउनुभयो । 

आफूमा क्षमता विकास गर्ने देखि आफूमा भएको सीप देखाउनका लागि यो कार्यक्रम निकै नै प्रभावकारी रहेको भन्दै बुढाले खुसी व्यक्त गर्नुभयो । कक्षा १० मा अध्यनरत छात्र समय महताराले पनि खाद्य मेला कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । 

अन्य जिल्लामा यस्ता कार्यक्रमहरू भइरहने भए पनि रुकुम जिल्लामा भने कमै हुने गरेको र आफ्नो स्कुलमा गत वर्ष देखि यो कार्यक्रम हुँदा आफूहरुलाई व्यवहारिक सीप सिक्न सजिलो भएको उहाँले बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीलाई सृजनशील बनाउनुका साथै पढ्दै कमाउँदै गर्नमा समेत सहयोग गर्ने उहाँको विश्वास छ ।

विद्यार्थीहरूमा व्यवहारिक ज्ञानको विकासका लागि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल खड्कबहादुर कँवरले जानकारी दिनुभयो । किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञानको खाँचो रहेकोले विद्यार्थीहरूकै लगानीमा यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । यो कार्यक्रमका लागि विद्यार्थी आफैले पैसा उठाएको र स्टल व्यवस्थापनमा भने स्कुलले सहयोग गरेको उहाँले बताउनुभयो । 

कार्यक्रम सकिएपछि सबै हिसाब गरेर विद्यार्थीले खाना बिक्री गरेर जम्मा भएको पैसा उनीहरूलाई नै दिने उहाँले बताउनुभयो । उनीहरूले उठाएको साँवा रकम मर्न नदिने उहाँको भनाई छ । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रममा जोड्न समेत यो कार्यक्रमले टेवा पुग्ने उहाँको विश्वास छ । 

‘अब कम्तीमा किताबी ज्ञान भन्दा विद्यार्थीहरूले कमाउने हुनै पर्छ, यसका लागि उनीहरूमा सीप विकासको आवश्यकता छ, यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सीप विकासका लागि ठुलो टेवा पुग्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा १६ वटा खानाका स्टल र विद्यार्थीहरू आफैले निर्माण गरेका तथा पठन पाठनमा प्रयोग हुने हरेक प्रकारका शैक्षिक सामग्रीहरू पनि प्रदर्शनीमा राखिएको थियो । यसका साथै  स्थानीय स्तरमा पाइने डोको, नाङ्लो, गाग्री, मादल, स्याकु, गुन्द्री, सुपो, ठेकी, चकटी, मादल, दमाहा लगायतका सामग्री समेत प्रदर्शनीमा राखिएको थियो । 

शैक्षिक सामग्री प्रदर्शनी तथा खाद्य मेलाको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । उहाँले शैक्षिक प्रर्दशनी तथा खाद्य मेलाको अबलोकन समेत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update