आदरणीय सभापति गगन थापा दाइ
सादर प्रणाम ।
भर्खरै सम्पन्न भयको प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि मन असाध्यै भारी भएको छ ! परिणामले धेरैको मन दुखाएको छ, धेरैको आशा पनि अधुरो बनाएको छ । तर यी सबै भावनाबिच एउटा कुरा बारम्बार मनमा आइरहन्छ यो परिणाम केवल अङ्कगणित होइन, यो लाखौँ जनताको भरोसा र विश्वासको अभिव्यक्ति हो ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि, केही समूहमा रहेको रुष्टता र त्यसबाट सिर्जित असहयोगका अनेक परिस्थितिका बाबजुद पनि नेपाली काङ्ग्रेसले प्राप्त गरेको मत सम्मानयोग्य छ । यो मत केवल मतपत्रमा परेको छाप होइन, यो कार्यकर्ताको पसिना, मतदाताको विश्वास र लोकतन्त्रप्रतिको आस्था हो ।
गगन दाइ, नेपाली काँग्रेस कुनै साधारण राजनीतिक सङ्गठन होइन । यो हजारौँ सङ्घर्ष, जेलनेल, त्याग र बलिदानबाट बनेको इतिहास हो । यो त्यही पार्टी हो जसले देशलाई अन्धकारबाट लोकतन्त्रको उज्यालोमा ल्याएको थियो ।
आज परिणामले केही निराशा अवश्य दिएको छ, तर मनले भन्छ यो हार होइन, यो अझ बलियो भएर उठ्ने एउटा पीडा हो ।
पार्टीभित्र मतभेद भए, असन्तुष्टि भए, कतिपय ठाउँमा आफ्नै मानिसको असहयोग पनि देखियो । तर त्यसका बाबजुद पनि लाखौँ जनताले काँग्रेसको चुनाव चिन्हमा विश्वास गरेर मत दिएका छन् । त्यो विश्वास कुनै हालतमा सानो होइन ।
त्यो विश्वासलाई सम्मान गर्नु आज हाम्रो सबैभन्दा ठुलो जिम्मेवारी हो । दाइ, आज पार्टीभित्र रुष्ट रहेका साथीहरूलाई पनि मनदेखि एउटा आग्रह छ हामी सबैको आस्था एउटै छ, झन्डा एउटै छ, इतिहास एउटै छ ।
व्यक्तिगत असन्तुष्टिभन्दा माथि उठेर पार्टीलाई एकजुट बनाउने जिम्मेवारी आज सबैको काँधमा छ ।किनकि नेपाली काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो ।
आजको यो परिणामले हामीलाई एउटा गम्भीर सन्देश दिएको छ हामीले अझ धेरै सुन्नुपर्छ, अझ धेरै आत्म समीक्षा गर्नुपर्छ, अझ धेरै एक हुनुपर्छ ।
सभापति दाइ, देशभरिका युवाहरूले तपाईँमा आशा देखेका छन् । परिवर्तनको सपना देख्ने कार्यकर्ताले तपाईँको नेतृत्वमा भरोसा गरेका छन् ।
त्यसैले आजको यो घडी निराशाको होइन-सबैलाई अँगालेर अघि बढ्ने साहसिक नेतृत्व देखाउने घडी हो ।
अन्त्यमा, प्राप्त मतलाई सम्मान गर्दै, लाखौँ जनताको विश्वासलाई ऊर्जा बनाउँदै, तपाईँको नेतृत्वमा नेपाली काँग्रेस अझ सशक्त भएर अगाडि बढोस् भन्ने मनदेखि कामना गर्दछु ।
हामी हारेर पनि हार मान्नेहरू होइनौँ । हामी काँग्रेस हौँ- सङ्घर्षबाट जन्मिएको, सङ्घर्षमै अझ बलियो हुने शक्ति ।
धन्यवाद !
जय नेपाल ।
सादर,
एक भावुक र निष्ठावान् काँग्रेस कार्यकर्ता
मुसिकोट नगरपालिका १२ रुकुम पश्चिम ।




-1759842583.jpg)