Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा अदुवा बिक्रिबाट एकै वर्षमा ५ करोड ५६ लाख रुपैयाँ भित्रियो
बीउकाे लागि अदुवा केलाउँदै किसान ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा राम्रो उत्पादन भएको छ । अदुवा बिक्रीबाटै पालिकामा साढे ५ करोड बढी रकम भित्रिएको छ ।  पालिका भर दुई हजार ६ सय ५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ५ करोड ५६ लाख ५० रुपैयाँ  भित्रिएको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभरमा यस वर्ष १५ लाख ९० हजार केजी अर्थात् १५ हजार ९ सय क्विन्टल अदुवा उत्पादन भएको छ । 

अदुवा खेती गर्ने दुई हजार ६ सय ५० घरधुरी रहेकामा प्रत्येक किसानले करिब दुई रोपनीमा अदुवा खेती गर्ने गरेको शाखा प्रमुख कार्कीले जानकारी दिनभयो । पालिकाभर पाँच हजार तीन सय रोपनी अर्थात् दुई सय ६५ हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनी जग्गामा तीन सय केजी अर्थात् तीन क्विन्टल सम्म अदुवा उत्पादन हुने गरेको उहाँको भनाई छ । प्रत्येक किसानले गाउँबाटै प्रति क्विन्टल तीन हजार बढी रुपैयाँका दरले अदुवा  बिक्री गरेका छन् । 

व्यापारी गाउँमै पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ । व्यावसायिक रूपमा अदुवा खेती गरिरहनुभएका त्रिवेणी ४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा विक्रीबाट एक लाख आम्दानी गरेको बताउनुभयो । विगत २२ वर्षदेखि खड्काले निरन्तर अदुवा खेती गरिरहनुभएको छ । यस वर्ष उत्पादन भएको मध्ये साढे ३ क्विन्टल बिउको लागि र १२ क्विन्टल प्रति क्विन्टल चार हजार देखि ८ हजार रुपैयाँका दरले विक्री गरेको खड्काले बताउनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update