गत हप्ता शैक्षिक गुणस्तर परीक्षण केन्द्रको तर्फबाट विद्यालयहरूको कार्यसम्पादन परीक्षणका लागि परीक्षकका रूपमा सल्यानका केही विद्यालयहरूमा पुग्ने अवसर मिल्यो । नियमित कामबाट समय निकाल्न कठिन भएकोले एक दिन अपराह्न आफ्नो कर्मथलोबाट निस्किएर साँझ श्रीनगर बजार पुगेर बास बसी भोलिपल्ट बिहान पाँच बजे नै ढोरचौरस्थित नीराजन माध्यमिक विद्यालय पुगियो । एकाबिहानै भए पनि विद्यालयमा जीवन्त चहलपहल बिहानै देखि अद्यावधि थियो । हेडसर बिहान साढे पाँचमै विद्यालय कम्पाउन्डमै हुनुहुन्थ्यो ।
उहाँ भोलि नै आयोजना हुने साबुन बनाउने तालिमको लागी मोबाइलमा कुराकानी गरिरहनु भएको र कुराकानीबाट एलोभेरा, नीमका बिरुवा, हर्बल साबुन उद्योग र कृषि उद्यमका योजना सुनिन्थे । विद्यालयको प्रधानाध्यापकसँग भन्दा बढी कुनै उद्यमी वा विकास अभियन्तासँग भेट भइरहेको जस्तो लाग्यो। अफिसतर्फ जाँदै गर्दा एउटा सानो मेसिनमा अन्डाहरू राखिएको देखेँ । जिज्ञासाले सोध्दा थाहा भयो त्यो ह्याचरी मेसिन रहेछ । विद्यालयमा भेटेरिनरी शिक्षा पनि सञ्चालन भइरहेको थियो। त्यसपछि कृषि र फलफूल खेतीका अभ्यास, विद्यार्थीहरूको सक्रियता, होस्टेल, अध्ययन कक्ष, क्यान्टिन, व्यवहारिक सिकाइका कार्यक्रमहरू हेर्दै जाँदा मलाई अचानक बेलायती शिक्षाविद् जोन डिवेको School is Minatare Society भन्ने भनाइ सम्झिएँ साँच्चै नीराजन मा वि त विद्यालय मात्र होइन, एउटा (सानो )लघु समाज रहेछ ।
नीराजन माध्यमिक विद्यालयमा व्यवस्थित छात्रावास थियो, सफा र सुग्घर भान्सा थियो, शौचालयहरू व्यवस्थित थिए । विद्यार्थीहरूबिचको व्यवहार झन् लोभलाग्दो थियो । साना साना नानीहरू एकापसमा झगडा गर्दासमेत “तपाईँ” भनेर सम्बोधन गरिरहेका सुनिन्थे। विद्यालयमा अनुशासन, शिष्टता र सिकाइको संस्कार स्पष्ट देखिन्थ्यो । त्यहाँका प्रधानाध्यापक धर्मराज घर्ती सरको समर्पण झन् प्रेरणादायी लाग्यो । चौबिसै घण्टा विद्यालयकै चिन्तामा लागिपरेर एउटा साधारण सामुदायिक विद्यालयलाई उदाहरणीय संस्थामा रूपान्तरण गरेको देख्दा म छक्क परेँ । एउटा विद्यालयमा भएको यो परिवर्तनले वा नीराजन माध्यमिक विद्यालयको यो दृश्यले मलाई अनायासै ३६० डिग्री घुमाइदियो र मेरो स्मरणलाई २०५० सालतिर पुर्याइदियो, जतिखेर बाट म सरकारी सेवामा प्रवेश गरी समुदायमा काम सुरु गरेको थिएँ ।
त्यो क्षणमा वा झलझलती विगतका विद्यालयहरूको अवस्थातर्फ फर्किएँ । २०५० साल असारदेखि समुदायमै रहेर स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्य गर्दै आएको मेरो यात्राले धेरै उतार चढाव देखेको छ । समुदायमा पुगेर काम गर्दा त्यति बेलाको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था निकै दयनीय देखेको थिएँ । स्वास्थ्य चौकीहरूमा झाडापखाला, जुकाजस्ता समस्याहरू व्यापक थिए। शौचालयको पहुँच अत्यन्त न्यून थियो । खुला दिसा गर्ने प्रचलन सामान्य मानिन्थ्यो। मानिसहरूले खुला रूपमा गरेका दिसामा लामा लामा जुका यत्रतत्र देखिइरहन्थे। रुकुमजस्तो दुर्गम जिल्लामा मात्र होइन, एक पटक काठमाडौँको कीर्तिपुरमा डेरा बस्दा पनि त्यहाँको शौचालयमा लामो जुका Ascaris Lumbricoides को थुप्रा देखेको सम्झना अझै ताजै छ ।
रुकुमको तकसेरास्थित स्वास्थ्य चौकीमा कार्यरत रहँदा नजिकैको विद्यालयको अवस्था पनि नजिकबाट हेर्ने अवसर पाएको थिएँ । विद्यालयमा कहिलेकाहीँ दुई तीन जना विद्यार्थी मात्र उपस्थित हुन्थे। आएका विद्यार्थीहरू पनि केही बेर पढेझैँ गरेर विद्यालयको चौरमा हिलो खेल्दै समय बिताउँथे। उनीहरूको शरीर र लुगा धुलाम्मे हुन्थ्यो। विद्यालय पोसाक भन्ने कुरा थिएन। शिक्षकहरू पनि गाउँघरका मानिसहरूसँग गफ गर्दै, स्थानीय खानपानमा रमाउँदै दिन बिताउने अवस्था थियो। पढाइको वातावरण र शैक्षिक अनुशासन लगभग शून्यजस्तै थियो । तर समयसँगै धेरै कुरा बदलिँदै गए। २०७५ सालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षकका रूपमा पुनः तकसेरास्थित महेन्द्र माध्यमिक विद्यालय पुग्ने अवसर मिल्यो। त्यहाँ पुगेपछि मैले देखेको दृश्यले मलाई अचम्मित बनायो ।
विद्यालयको ठुलो हल कम्प्युटरले भरिएको थियो। विद्यार्थीहरू कम्प्युटर सिकिरहेका थिए । शिक्षकहरू हातमा मार्कर बोकेर रुटिनअनुसार कक्षाकोठातर्फ दौडिरहेका थिए। कक्षाकोठाहरू विद्यार्थीहरूले खचाखच भरिएका थिए। सिकाइप्रति उत्साह र विद्यालयप्रति अपनत्व स्पष्ट देखिन्थ्यो । एकै विद्यालयमा पच्चिस वर्षको अन्तरालमा आएको यस्तो परिवर्तन मैले आफ्नै आँखाले देखेँ। स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै परिवर्तन आएको छ । एक समय झाडापखाला, कुपोषण र जुकाले सताइरहेको समाज आज स्वास्थ्य सचेतनामा निकै अगाडि बढेको छ। खोप, सुरक्षित मातृत्व, सरसफाइ र स्वास्थ्य सेवाको पहुँच गाउँ गाउँसम्म पुगेको छ । स्वास्थ्यकर्मीका रूपमा मैले बर्दियाको राजापुर र बदालपुरका घना बस्तीहरूदेखि पूर्वी रुकुमका विकट गाउँसम्म काम गर्ने अवसर पाएँ। ती ठाउँहरूमा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रको अवस्था अत्यन्त कमजोर थियो। तर आज तीन दशकपछि त्यही समाजमा फर्केर हेर्दा परिवर्तनको एउटा नयाँ कथा देखिन्छ ।
समयसँगै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। आज गाउँ गाउँमा खोप, सरसफाइ, सुरक्षित प्रसूति सेवा र बर्थिङ सेन्टरसम्मको पहुँच पुगेको छ। पहिले हाम्रै आँखाअगाडि प्रसूति रक्तस्रावका कारण आमाहरूको मृत्यु हुने दर्दनाक दृश्य सामान्यजस्तै थियो। न एम्बुलेन्सको सुविधा थियो, न रक्तसञ्चारको व्यवस्था । दाङ पुग्न तीन दिन लाग्ने दुर्गम ठाउँहरूमा हामी सामान्य सलाइन र सीमित औषधिको भरमा ज्यान बचाउने प्रयास गर्थ्यौँ, तर धेरै पटक असफल हुनुपर्थ्यो। आज त्यो अवस्था पूर्ण रूपमा बदलिएको छ, जुन परिवर्तन आफैँमा ठुलो उपलब्धि हो । तर शिक्षा क्षेत्रको परिवर्तन भने असन्तुलित देखिन्छ। आधारभूत तथा माध्यमिक तहमा पालिकाहरूको सक्रियताले विद्यालयहरूमा केही सुधार ल्याएको छ। शिक्षक व्यवस्थापन, अनुगमन र पूर्वाधार विकासले विद्यालय शिक्षा पहिलेभन्दा धेरै व्यवस्थित भएको छ। तर उच्च शिक्षाको अवस्था अझै कमजोर छ । दुर्गम जिल्लाका प्लस टु र क्याम्पसहरूमा गुणस्तरीय शिक्षाको अभाव स्पष्ट देखिन्छ ।
तर पनि करिब पच्चीस तीस वर्षअघिको अवस्था र आजको अवस्थालाई दाँजेर हेर्दा, परिवर्तनका उपलब्धिहरू स्पष्ट देखिन्छन्, तर चुनौतीहरू अझै बाँकी छन् । वास्तवमा उच्च शिक्षाको क्षेत्रमा अपेक्षित सुधारका प्रयासहरू पर्याप्त रूपमा अघि बढ्न सकेका छैनन् । बरु कतिपय सन्दर्भमा यो क्षेत्र सुधारतर्फ होइन, झन् अवमूल्यन र लोपोन्मुख अवस्थातर्फ उन्मुख हुँदै गएको जस्तो अनुभूति हुन्छ। आज गाउँ गाउँमा बिएड, बिए, तथा अन्य विभिन्न विषयका क्याम्पसहरू खुलेका छन् र अध्ययन अध्यापन पनि भइरहेको देखिन्छ । तर तीमध्ये धेरैजसो संस्थामा सिकाइको वास्तविक मर्म कमजोर बन्दै गएको छ । पढाइ केवल औपचारिकता र सर्टिफिकेट प्राप्त गर्ने माध्यममा सीमित हुँदै गएको छ ।
ज्ञान आर्जन गर्ने, आलोचनात्मक सोच विकास गर्ने र व्यवहारिक सीप हासिल गर्ने पक्ष कमजोर देखिन्छ। यसरी उच्च शैक्षिक संस्थाहरू क्रमशः “सर्टिफिकेट वितरण केन्द्र” जस्ता रूपमा रूपान्तरित हुँदै गएको अनुभूति हुन्छ । यस्तो अवस्थालाई कसरी सुधार गर्ने, कसरी गुणस्तरीयता वृद्धि गर्ने भन्ने विषयमा ठोस नीति, प्रभावकारी कार्यान्वयन र निरन्तर अनुगमनको अभाव स्पष्ट देखिन्छ । अहिलेको संरचनामा गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने सकारात्मक पहलहरू अत्यन्त कमजोर छन्, जसले समग्र उच्च शिक्षाको भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ । नीराजन माध्यमिक विद्यालयको अनुशासित वातावरण, विद्यार्थीहरूको व्यवहार, व्यवस्थित पूर्वाधार र समर्पित नेतृत्व देख्दा मलाई लाग्यो हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै दूरी पार गरिसकेका छौँ तर उच्च शिक्षा नीराजन माविको बाटोमा कहिले हिँड्ने त ?? विद्यालय शिक्षामा पनि अझै समस्या छैनन् भन्ने होइन, तर तीस वर्षअघिको नेपाल र आजको नेपालबिचको अन्तर आकाश जमिनको छ। परिवर्तनको यो यात्रा कुनै सरकार, कुनै संस्था वा कुनै व्यक्तिको मात्र उपलब्धि होइन ।
यो हजारौँ शिक्षक, स्वास्थ्यकर्मी, अभिभावक, स्थानीय समुदाय र परिवर्तनमा विश्वास गर्ने साधारण नेपालीहरूको सामूहिक प्रयासको परिणाम हो । मेरो अनुभवको सार यही हो कि अब परिवर्तनको लहर उच्च शिक्षामा अनिवार्य रूपमा आउनुपर्छ । जसरी हिजो स्वास्थ्य सेवा प्रणालीमा सुधार आयो, जसरी विद्यालय शिक्षामा परिवर्तनको लहर फैलियो, अब त्यही प्रकारको रूपान्तरण प्लस टु, क्याम्पस, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार हुन आवश्यक छ । हामीले पालिका स्तरमा क्याम्पसहरू स्थापना गरिसकेका छौँ । अब प्रश्न केवल पहुँचको होइन, गुणस्तरको हो । पहुँच विस्तारसँगै गुणस्तरीय शिक्षाको सुनिश्चितता हाम्रो प्रमुख दायित्व बन्नुपर्छ । जसरी विद्यालय तहमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रमार्फत विगत एक दशकभन्दा बढी समयदेखि स्वमूल्याङ्कन परीक्षण हुँदै आएको छ, त्यस्तै संरचना उच्च शिक्षामा पनि अझ मजबुत रूपमा आवश्यक छ ।
विश्वविद्यालय अनुदान आयोगले क्यूएए QAA को अवधारणा अघि सारेको छ । क्यूएए प्राप्त गर्नुअघि क्याम्पसहरूले तयार गर्ने सेल्फ स्टडी रिपोर्ट (SSR ) वास्तवमा विद्यालय तहमा गरिने शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्वमूल्याङ्कन वा परफर्मेन्स अडिटसँग धेरै हदसम्म समतुल्य छ। यी दुवै अभ्यास संस्थागत मूल्याङ्कन, आत्म विश्लेषण र गुणस्तर सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्।अब विश्वविद्यालय, उच्च शिक्षाका, नीति निर्माता निकायहरू तथा क्याम्पस व्यवस्थापन समितिहरू सबैले गम्भीर रूपमा सोच्नुपर्ने समय आएको छ । हामी उच्च शिक्षालाई कसरी गुणस्तरीयताको बाटोमा अगाडि बढाउने?किनभने समय परिवर्तन भइसकेको छ। अन्य सबै क्षेत्रमा सुधारका प्रयासहरू क्रमशः सफल हुँदै गएका छन्। अब सुधारको केन्द्रबिन्दु अनिवार्य रूपमा उच्च शिक्षा बन्न पुगेको छ ।
लेखक मुसिकाेट खलंगा बहुमुखी क्याम्पसका प्रमुख हुनुहुन्छ ।




1686475760.jpg)


-1759842583.jpg)