रुकुम पश्चिममा ग्यास अभाव बारे गृह मन्त्रालयबाट नै चासो व्यक्त भएको छ । जिल्लामा ग्यासको अभाव सिर्जना भएको बारे सामाजिक सञ्जालमा चर्चा भएपछि मन्त्रालयले चासो व्यक्त गरेको हो ।
जिल्लामा ग्यासको अभाव भएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि मन्त्रालयबाट यसबारेमा चासो व्यक्त भएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । जिल्लाको अवस्था बारे जानकारी गराइसकिएको उहाँले बताउनुभयो ।
साथै उहाँले जिल्लामा ग्यासको ठुलो समस्या नरहेको बताउनुभयो । विशेष गरी हिजो साँझ ग्यासका लागि भएको तछाडमछाडकाे घटनालाई गम्भीरता पूर्वक लिएको उहाँले बताउनुभयो । जिल्लामा ग्यासको सहज आपूर्तिका लागि विभिन्न निकायसँग पहल भइरहेको उहाँको भनाई छ ।
माथिबाटै केही दिनको अन्तरालमा ग्यास आएकोले धेरै उपभोक्ताले एकै पटक ग्यासको माग गर्दा समस्या देखिए पनि अब नियमित ग्यास आपूर्तिका लागि पहल भइसकेको उहाँले बताउनुभयो । आजै साँझ अर्को लट ग्यास आउन लागेको उहाँले जानकारी गराउनुभयो ।
विशेष गरी पछिल्लो पटक आधा सिलिन्डर ग्यास बजारमा आउँदा केही समस्या देखिएको पाइएको उहाँले बताउनुभयो । माथिल्लो डिलरले तल ग्यास पठाउन ढिलाइ गर्दा बजारमा केही समस्या देखिएको भए पनि नआत्तिन प्रमुख जिल्ला अधिकारी गौतमले उपभोक्ताहरूलाई अनुरोध गर्नुभएको छ ।
ग्यासका लागि मुसिकाेट खलंगाकाे एक पसलमा हिजाे साँझ ठुलाे भिड लागेकाे थियाे । अवस्था असहज बनेपछि प्रहरी परिचालन गरेर ग्यास बिक्री गर्नु परेकाे थियाे ।
यसैबिच बजारमा ग्यासको समस्या देखिएपछि आज मुसिकोट नगरपालिकाले मुसिकोटका ग्यास बिक्रेता पसलहरूमा अनुगमन समेत गरेको छ ।







-1759842583.jpg)