रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ११ सेरामा ३१ औँ राँके मेलाको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र कास्कीको पोखरा युनाइटेड भिड्ने भएका छन् ।
फाइनल खेल भोली हुने छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र भूमे गाउँपालिका ४ लाई ३–० को साझाे सेटमा पराजित गर्दै फाइनल पुगेको हो भने पोखरा यूनाइटेडले सेमिफाइनलमा तकसेराकाे स्थानीय टोलीलाई ३–० को सोझाे सेटमा पराजित गरेको थियो ।
विजेताले २ लाख नगद र २५ तोला चाँदीबाट बनेको शिल्ड प्राप्त गर्ने आयोजक हिमालय शृङ्खला चौरी युवा क्लबले जनाएको छ । रुकुम पश्चिमले लगातार तेस्रो पटक उपाधि हात पार्दै शिल्ड माथि कब्जा जमाउने योजना बनाएको छ । यसअघिका २ संस्करण जितेको रुकुम पश्चिमले यो पटक पनि उपाधि जितेमा शिल्ड सधैँका लागि कब्जा गर्ने छ ।
त्यस्तै उपविजेताले नगद १ लाख र तेस्रो हुनेले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकको भनाई छ । महिला तर्फको उपाधिका लागि भने न्यु डायमन्ड काठमाडौँ र निसिखोला बागलुङ बिच प्रतिस्पर्धा हुने भएको छ । महिलाको फाइनल पनि भोली नै हुने छ ।
महिला तर्फको विजेताले नगद १ लाख पुरस्कार पाउने छ । उप विजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छ । राँके मेलाको अवसरमा महिला पुरुष भलिबल सहित महिला पुरुष फुटसल, दोहोरी गीत, छेलो लगायत विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका यस कार्यक्रमको सह आयोजकका रूपमा रहेको छ । यहाँ हरेक वर्ष विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित राँके मेला मनाउने गरिएको छ ।





-1759842583.jpg)