Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट–१३ सादनचौरमा जिल्लाकै ठुलो क्षमताको पेट्राेल पम्प ‘सौभाग्य आयल स्टोर’ सञ्चालनमा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३, सादनचौरमा जिल्लाकै ठुलो क्षमताको ‘सौभाग्य आयल स्टोर’ सञ्चालनमा आएको छ । मध्य पहाडी लोक मार्गमा आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी आयल स्टोरले सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो ।

नेपाल आयल निगमको आधिकारिक विक्रेताका रूपमा सञ्चालनमा आएको स्टोरबाट पेट्रोल र डिजेल बिक्री वितरण गरिने सञ्चालक यामप्रसाद डाँगीले जानकारी दिनुभयो ।

करिब चार करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सौभाग्य आयल स्टोरमा एक पटकमा १२ हजार लिटर पेट्रोल र २४ हजार लिटर डिजेल भण्डारण गर्न सकिने क्षमता रहेको सञ्चालक डाँगीले बताउनुभयो। उहाँका अनुसार उक्त भण्डारण क्षमता रुकुम पश्चिम जिल्लामै ठुलो क्षमताको आयल स्टोरका रूपमा रहेको छ ।

मध्य पहाडी लोक मार्ग हुँदै आवतजावत गर्ने सवारी साधनको चापलाई मध्यनजर गर्दै आधुनिक र व्यवस्थित रूपमा आयल स्टोर सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । स्टोर सञ्चालनमा आएसँगै सादनचौरसहित आसपासका क्षेत्र तथा मध्य पहाडी लोक मार्गमा चल्ने सवारी साधनलाई इन्धन भर्न सहज हुने अपेक्षा गरिएको छ।

पेट्रोल पम्पको सोमबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update