रुकुम पश्चिममा परम्परागत लाखे नाच सुरु भएको छ । सोमबारबाट नाच सुरु भएको हो । हरेक वर्षको रक्षा बन्धन अर्थात् जनै पूर्णिमाको दिन देखि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्टसम्म नाचिने यो नाच यस वर्ष भने तीन दिन ढिला गरी सुरु भएको लाखे नाच संरक्षण समितिले जनाएको छ ।
यस पटक समुदायमा दुःख परेकोले नाच सुरु गर्न समय लागेको समितिले जनाएको छ । सोमबार अपराह्न मुसिकोट खलङ्गाको कालिका स्थान मन्दिरमा पूजा तथा दर्शन सहित नाच सुरु भएको हो । अब यो नाच श्रीकृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ मुसिकोट खलङ्गाका विभिन्न ठाउँमा नाचिने छ ।
श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट भने मुसिकोट खलङ्गामा मेला सहित विधिपूर्वक नाचको समापन गरिने लाखे नाच संरक्षण समितिले जनाएको छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई शृङ्गारेर नचाउने गरिन्छ ।
कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट कंसलाई नै मारेर समापन गर्ने गरिन्छ । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन सदरमुकाम खलङ्गाको बराह टाकुरामा मेला लाग्छ ।
द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष केशव नेपालीले बताउनुभयो ।
उहाँका अनुसार भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।


-1788004022.jpeg)


-1759842583.jpg)