रुकुमको प्राकृतिक सौन्दर्य, स्थानीय पहिचान र प्रेमकथालाई समेटेर विजय दर्पण चन्दको नयाँ लोकदोहोरी गीत ‘चौका दाउ–२’ सार्वजनिक गरिएको छ । यो बहुचर्चित ‘चौका दाउ’को सिक्वेल हो । शान्तिश्री परियार र बाबुकृष्ण परियारको स्वर रहेको गीतमा रुकुमको भूगोल, संस्कृति र प्रेम भावलाई कथानकसँग जोडिएको छ ।
गीतमा प्रेमी–प्रेमिकाबिचको आत्मीय सम्बन्ध, जीवनभर सँगै रहने प्रतिबद्धता र प्रियजनलाई आफ्नो घर-जन्मभूमिमा भित्र्याउने चाहनालाई मुख्य विषय बनाइएको छ ।
गीतको अर्को विशेषता रुकुमका विभिन्न प्राकृतिक तथा पर्यटकीय क्षेत्रको उल्लेख हो । गीतमा सिस्ने हिमाल, सानीभेरी नदीलाई रुकुमको पहिचानसँग जोडिएको छ । त्यस्तै स्यार्पु, कमल ताल, बाँफिकोट र मुसिकोट लगायतका स्थानको समेत चर्चा गरिएको छ ।
गीतमा रुकुमको भूगोल र प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेमकथालाई स्थानीय परिवेशसँग जोडिएको छ । यसले लोकदोहोरीको माध्यमबाट रुकुमका विभिन्न स्थान र तिनको सांस्कृतिक पहिचानलाई समेत प्रस्तुत गरेको छ।
‘चौका दाउ–२’ को भिडियोमा सुनिल क्षेत्री र गीता ढुङ्गाना मुख्य भूमिकामा हुनुहुन्छ । आरुशी शाही बाल कलाकारका रूपमा देखिनुभएको छ । भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । गीतका शब्द विजय दर्पण चन्दले लेख्नुभएको हो ।
भिडियोमा स्थानीय परिवेश, परम्परागत पहिरन तथा रुकुमका प्राकृतिक दृश्यलाई समेटिएको छ । गीतको कथ्यमा प्रियजनलाई रुकुम घर भित्र्याउने चाहनालाई विशेष रूपमा प्रस्तुत गरिएको छ । प्रेम सम्बन्धलाई जीवनको अन्तिम गन्तव्यसम्म पुर्याउने भावसहित अन्तिम दाउको प्रसङ्गसमेत गीतमा आएको छ ।
यश गीतको छायाङ्कन रुकुम पश्चिमको बाँफिकाेटकाे स्यार्पूताल, छिनखेत लगायतका विभिन्न ठाउँ र दाङको देउखुरी क्रिकेट मैदानमा खिचिएको छ ।





