रुकुम पश्चिमका कलाकार तथा मोडल राम बी पुनले प्रतिष्ठित ४ औँ नेसनल ब्रान्ड म्युजिक अवार्ड–२०८२ अन्तर्गत ‘न्यु मोडर्न सङ्ग एक्टर मेल’ विधाको अवार्ड जित्न सफल हुनुभएको छ । पुनले अभिनय गरेको चर्चित गीत ‘तिमीलाई हेरी हेरी’ बाट उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल हुनुभएको थियो । उक्त विधामा मनोनयनमा परेका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले आज उत्कृष्ट अवार्ड आफ्नो नाममा पार्नुभएको हो । काठमाडौ आयोजित एक कार्यक्रम विच आज उहाँले अवार्ड ग्रहण गर्नुभएको हो ।
अवार्ड वितरणका लागि दर्शकको भोटलाई समेत आधार बनाइएको थियो । उत्कृष्ट पाँचमा मनोनयनमा परेपछि कलाकार पुनले देश तथा विदेशमा रहनुभएका नेपाली दर्शक तथा शुभेच्छुकहरूसँग ई–सेवा मार्फत भोट गरी सहयोग गर्न अपिल गर्नुभएको थियो । आफ्नो सफलतामा दर्शक, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै पुनले प्राप्त अवार्डले आफूलाई साङ्गीतिक तथा अभिनय क्षेत्रमा थप सक्रिय भएर अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभएको छ ।
गत वर्षदेखि मोडलिङ यात्रा सुरु गर्नुभएका पुनले छोटो समयमै राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको छ । उहाँले आफ्नो पहिलो साङ्गीतिक प्रस्तुति ‘तकदिर २– म माया गर्छु’ बाट यसअघि दोस्रो बि स्टार फिल्म म्युजिक अवार्ड–२०८२ अन्तर्गत सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडल अवार्ड समेत प्राप्त गरिसक्नुभएको छ । ‘तिमीलाई हेरी हेरी’ उहाँको दोस्रो साङ्गीतिक कोसेली हो। दोस्रो प्रस्तुतीमा पनि प्रतिष्ठित राष्ट्रिय अवार्ड हात पार्न सफल हुनुभएको हो ।
रुकुम पश्चिमबाट राष्ट्रिय स्तरको अवार्ड जित्दै पुनले जिल्लाको कला तथा मनोरञ्जन क्षेत्रको समेत गौरव बढाउनुभएको छ । उहाँको यो सफलतापछि सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरूले बधाई तथा सफलताको शुभकामना व्यक्त समेत गरिरहेका छन् ।


-1788004022.jpeg)


-1759842583.jpg)