Kakhara सबैको खबर सम्पूर्ण खबर
आफूले पढेको विद्यालयमा विजयद्वारा सरस्वती मन्दिर निर्माण, परिवारलाई विद्यालयकाे सम्मान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ का विजय केसीले आफूले अध्ययन गरेको महेन्द्र माध्यमिक विद्यालयमा करिब ६ लाख रुपैयाँको लागतमा सरस्वती मन्दिर निर्माण गराउनुभएको छ ।

हाल अमेरिकामा बस्दै आउनुभएका केसीले आफूले ज्ञान र शिक्षा हासिल गरेको विद्यालयप्रतिको सम्मान स्वरूप विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गराउनुभएको हो । विदेशमा रहेर पनि आफूले पढेको विद्यालय र समुदायलाई सम्झिँदै गरिएको यो सहयोगलाई विद्यालयले उदाहरणीय कार्यका रूपमा लिएको छ ।

मन्दिर निर्माणमा सहयोग गरेको भन्दै विद्यालयले विजय केसी र उहाँको परिवारप्रति धन्यवाद व्यक्त गर्दै सम्मानसमेत गरेको छ । विद्यालयले केसीको परिवारलाई दोसल्ला ओढाएर तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक झलक पुनले आफूले अध्ययन गरेको विद्यालयलाई सम्झिएर मन्दिर निर्माणमा सहयोग गरेकोमा विजय केसीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विदेशमा रहेर पनि आफ्नो विद्यालय र समुदायप्रतिको जिम्मेवारी सम्झिँदै गरिएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानाध्यापक पुनका अनुसार पूर्व विद्यार्थीबाट विद्यालयमा गरिएको यस्तो योगदानले विद्यालय र पूर्व विद्यार्थीबिचको सम्बन्ध अझ बलियो बनाउनुका साथै अन्य पूर्व विद्यार्थीलाई पनि आफ्नो विद्यालयको विकासमा योगदान गर्न प्रेरणा मिल्नेछ ।

सरस्वतीलाई विद्या र ज्ञानकी देवीका रूपमा पुजिने भएकाले विद्यालय परिसरमा निर्माण गरिएको मन्दिरले विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि समेत विशेष महत्त्व राख्ने विद्यालयले विश्वास लिएको छ

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update