Kakhara सबैको खबर सम्पूर्ण खबर
शितलपोखरी–झुल्खेत–चुनवाङ सडक कालोपत्रेको काम सुरु

रुकुम पश्चिमको शितलपोखरी–झुल्खेत–चुनवाङ सडकखण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने काम सुरु भएको छ ।

मुसिकोट नगरपालिका–६ झुल्खेतमा आज आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले रिबन काटेर सडक निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गोपाल शर्मा, प्रदेश सांसद एवं पूर्व मन्त्री महेन्द्र के.सी. (पारसमणि), जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, मुसिकोट नगरपालिकाका नगर उपप्रमुख, विभिन्न वडाका वडा अध्यक्षलगायत जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

सडक निर्माणको जिम्मा रायमाझी–थोडुङ–पाण्डे जेभी, नयाँ बानेश्वर काठमाडौँले पाएको छ। यो आयोजना भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना (RCIP-AF) अन्तर्गत सञ्चालन हुन लागेको हो ।

1000238703-1791476449.jpg
 

आयोजनाको सम्झौता रकम ३४ करोड १८ लाख २ हजार ८ सय २९ रुपैयाँ ५८ पैसा रहेको छ ।

निर्माण कार्यको शुभारम्भ गर्दै मन्त्री रोकाले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न र सडक निर्माणको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

सडक कालोपत्रे भएपछि शितलपोखरी, झुल्खेत हुँदै चुनवाङसम्मको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। लामो समयदेखि स्तरोन्नतिको पर्खाइमा रहेको सडकको काम सुरु भएपछि स्थानीयवासीमा पनि उत्साह देखिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update