Kakhara सबैको खबर सम्पूर्ण खबर
छेडाबगर पक्की पुलको निरीक्षण, पुस मसान्तसम्म निर्माण सक्न निर्देशन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ र १३ जोड्ने छेडाबगरमा निर्माणाधीन पक्की पुलको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोका र मन्त्रालयका सचिव अर्जुनकुमार बमले स्थलगत निरीक्षण गर्नुभएको छ ।

कर्णाली प्रदेशका १९ रुग्ण पूर्वाधार आयोजनामध्ये एक रहेको उक्त पुलको निर्माण कार्य हालसम्म करिब ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको जिम्मेवारी सपना/सिस्ने हिमाल/खड्का जेभीले लिएको छ ।

निरीक्षणका क्रममा मन्त्री रोकाले लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको पुलको काममा अब कुनै पनि बहानामा ढिलाइ नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । उहाँले आगामी पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गर्न निर्देशन दिनुभयो ।

1000238268-1791476820.jpg
जनताको प्रत्यक्ष सरोकार र दैनिक आवागमनसँग जोडिएका पूर्वाधार निर्माणमा ढिलासुस्ती स्वीकार्य नहुने बताउँदै मन्त्री रोकाले तोकिएको समयभित्र काम सम्पन्न गर्न मन्त्रालय तथा सम्बन्धित कार्यालयबाट आवश्यक सहजीकरण गरिने बताउनुभयो ।

पुलको ठेक्का सम्झौता २०७८ असार २४ गते भएको थियो भने निर्माण सम्पन्न गर्ने पछिल्लो म्याद २०८३ वैशाख २८ गते नै सकिइसकेको छ ।

निरीक्षणमा मुसिकोट नगरपालिका–१३ का वडा अध्यक्ष खल बहादुर खड्का  स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update