
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वले चालु आर्थिक वर्षमा स्विकृत कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ मा झण्डै ७ करोड बजेट खर्च गर्दै छ । विभिन्न शिर्षक तथा योजनामा कुल ६ करोड ७५ लाख ६० हजार बजेट खर्च हुने कार्यालयका प्रमुख अरविन्दमणि त्रिपाठीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा १० वटा कार्यक्रमहरु स्विकृत भएर आएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा प्रविधि सेवा विस्तार कार्यक्रमको लागि ७८ लाख २२ हजार, अभियानमुखी कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको लागि ८९ लाख ६५ हजार रुपैयाँ बजेट रहेको छ ।
त्यस्तै साधारण तर्फको कार्यक्रम ९६ लाख ६१ हजारको, कृषि विकास रणनीति अनुगमण कार्यक्रम ३ लाखको, पशुपंक्षी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रम १२ लाख ४ हजारको र कृषि उत्पादन खाद्य तथा पोषण सुरक्षा कार्यक्रम १ करोड ४० लाख २ हजारको रहेको कार्यालय प्रमुख त्रिपाठीले आज आयोजित वार्षिक योजना सार्वजनिकरण कार्यक्रममा जानकारी गराउनुभएको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमको लागि ७९ लाख ४९ हजार, प्राङ्गारीक संघ शसर्तको ७५ लाख ५ हजार, खोप अभियान संघ शसर्तको ४ लाख ७ हजार र पी.एम.एम.पी संघ सशर्त कार्यक्रम सञ्चालनको लागि ९६ लाख ३७ हजार बजेट आएको बताईएको छ । ठुला १० वटा कार्यक्रम भित्र रहेर कार्यालयले थुप्रै क्रियाकलापहरु सञ्चालन गर्ने प्रमुख त्रिपाठीले बताउनुभयो । गत वर्ष जिल्लामा स्थापना भएको यो कार्यालयमा पहिलो वर्ष ११ करोड ६२ लाख बजेट आएको थियो । यस वर्ष भने बजेट घटेर आएको छ ।
गत वर्ष ११ करोड ६२ लाख बजेट आएपनि सबै खर्च हुन सकेको थिएन । करिब ६ करोड बजेट फ्रीज गएको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले बताउनुभयो । जिल्लामा कार्यालय स्थापना भएको पहिलो वर्ष भएको र कार्यक्रमहरु मन्त्रालयबाटै बनेर आएकाले पनि कार्यान्वयन र बजेट खर्चमा केहि चुकेको बस्नेतले बताउनुभयो ।
यस वर्ष भने जिल्लाको हावापानी, भूगोल, कृषकको माग र एक वर्षको अनुभव अनुसार कार्यक्रम छनोट र बजेटको सिलिङ पठाएकाले गत वर्षको तुलनामा यस वर्ष कार्यक्रम सञ्चालनमा सहज हुने कृषि अधिकृत बस्नेतले बताउनुभयो ।