
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । विभिन्न समस्यामा परेका पत्रकारहरुको सहयोगका लागि कोष स्थापना गर्ने निर्णय गरिएको हो । महासंघको सदरमुकाम खलंगामा बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । कोष स्थापना गर्ने आवश्यक कार्यविधि समेत निर्माण गर्ने तयारी महासंघले गरेको छ । बैठकले महासंघको वेवसाइट निर्माण गर्ने, मिडिया डायरी प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
कोरोना महामारीका बेला पत्रकारहरुलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्ने विभिन्न निकायलाई धन्यवाद दिएको महासंघले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको जनाएको छ । सचिव हिरा परियारले विज्ञप्ती जारी गरी महासंघको बैठकका निर्णयबारे जानकारी गराउनुभएको हो । विहीबार बसेको बैठकका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो । महासंघले अदालती रिर्पोटिङका लागि अभिमुखिकरण गर्ने र रुकुम पूर्वमा पत्रकारिता तालिम सञ्चालनका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।