रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगाको बराहटाकुरामा निर्माणाधिन झोलुंगे पुलमा दैनिक दुई जना प्रहरी ड्युटिमा हुन्छन् । पछिल्लो दुईहप्ता देखि दैनिक एक जना हवल्दार र एक जना जवान सुरक्षाका लागि खटिएका छन् । पुलको निर्माण कार्य अन्तिम चरणमा छ । निर्माण नसकिदै मान्छेहरुको थामिनसक्नुको घुईचो लाग्न थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गरेर ठेकेदारले सुरक्षाका लागि प्रहरी खटाई दिन जिल्ला प्रहरी कार्यालयलाई आग्रह नै गर्नुपर्यो ।
ठेकेदारको आग्रहपछि २ जना प्रहरीलाई दैनिक पुलको सुरक्षाका लागि खटाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘निर्माणकार्य चलिरहेको छ, मान्छेहरुको आउजाउले निर्माण कार्यमा असर परेको कुरा आयो, डिएसपी श्रेष्ठले भन्नुभयो–निर्माण कार्य नसकिएकाले दुर्घटनाको जोखिम पनि देखियो, ठेकेदारले माग गरेपछि सुरक्षाका लागि प्रहरी खटाईएको हो ।’ पुलमा जान नदिनका लागि हाल एक जना हवल्दार र एक जना जवान गरी दुई जना प्रहरी परिचालन गरिएको छ ।
बिहानै देखि साँझैसम्म प्रहरीले पुलमा पहरा दिईरहेको छ । पुलको काम नसकिदै मान्छेहरु पुलमा जाने र फोटो तथा टिकटक बनाउन थालेपछि दुर्घटनाको जोखिम बढ्को थियो । पुलमा जाली राख्ने काम सकिएको छैन् । तैपनि मान्छेहरुले जोखिमपूर्ण रुपमा पुल वारपार गर्ने, फोटो खिच्ने र टिकटक बनाउने गर्न थालेपछि उनिलाई रोक्न प्रहरी नै परिचालन गर्नुपरेको कामको जिम्मा लिएको ठेकेदार कम्पनीले जनाएको छ ।
‘मान्छेहरुलाई पुलमा नजाऔं, ज्यानै जाने जोखिम छ भन्दा पनि मान्दैनन्, पुलमा गए मरिन्छ भनेर रोक्नका लागि पनि प्रहरी खटाउनुपर्ने अवस्था आएको छ पुल निर्माणको काम गरिरहेकाहरुले भने ।’ खलंगा र सल्लेलाई जोड्न २ सय ३८ मिटर लामो पुल निर्माणको काम अन्तिम चरणमा छ । डेढ करोड लागतमा हरिहरि–चन्द्रोदय जेभिले पुल निर्माण गरिरहेको छ ।





-1759842583.jpg)