Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेट गाउँपालिकामा भाद्र १५ गतेबाट बिद्यालय खुल्ने
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भाद्र १५ गते देखि बिद्यालय खुल्ने भएका छन् । कोभिड-१९ का कारण लामो समय सम्म बन्द भएका बिद्यालय भाद्र १५ गते देखि संचालन हुने भएका हुन् । गाउँपालिकामा कोभिड -१९ का बिरामी नभएकाले ताेकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बिद्यालय खुलाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता मनबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ गते सम्म सबै बिद्यालयहरुलाई पठन पाठनको तयारी गर्न भनिएको छ ।

शैक्षिक सत्र भने असार १ देखि नै संचालन भइसकेको छ । बिद्यार्थी भर्ना र पुस्तक बितरणको काम भएको भए पनि बिद्यालयहरु भने खुल्न सकेका छैनन् । शैक्षिक सत्र खेर गैरहेको र कोरोनाका बिरामी पनि कम भएपछि बिद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाले जनाएकाे छ । शुक्रबार सम्पन्न दोस्रो गाउँकार्यपालिका बैठकले बिद्यालयमा पठन पाठन संचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले गाउँपालिकामा रहेका २ सय २९ फुसका छाना भएका घरमा जस्ताको छाना हाल्नको लागि प्रदेश सरकारमा प्रस्ताव पेश गर्ने निर्णय भएको छ । ति घरको फुसको छाना हटाई जस्ताको छाना राख्नको लागि गाउँपालिकाले जस्ताको पाता सहयोग गर्ने प्रवक्ता खत्रीले जानकारी दिनुभयो । त्यस्तै वर्षाका कारण अवरुद्ध गाउँपालिका भित्रका सडकहरु सफा गर्ने निर्णय पनि भएको छ । कोरोनाको कारण बन्द भएको व्यक्तिगत घटना दर्ता शिबिर भदौ महिना भित्रै संचालन गरिने छ ।

बैशाख १ गते देखि प्रत्यक वडामा संचालन भएको शिबिर कोरोनाका कारण बन्द भएको थियो । वडा कार्यालयहरुमा जडान गरिएको इन्टरनेटमा समस्या देखिएको गुनासो आएकाले नयाँ सेवाप्रदायक कम्पनीसंग सम्झौता गरि प्रत्यक वडा कार्यालयमा इन्टरनेट जडान गरिने पनि भएको छ । चालु आर्थिक वर्षको वजेटको कार्य सम्झौता तत्काल गरि मंसिर मसान्त भित्र कार्य सम्पादन गर्ने, गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि तत्काल व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update