Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ४ पालिकामा चिकित्सकीय सेवा

रुकुम पश्चिममा ६ स्थानीय तह छन् । मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिका हुन् भने बाँफिकोट, सानीभेरी र त्रिवेणि गाउँपालिका । मुसीकोट सदरमुकामको नगरपालिका हो । यहाँ आधारभुत भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतको विषयगत कार्यालय पहिल्यै पनि थिए र पछि पनि छन् ।

बाँकी ५ वटा स्थानीय तह आफ्नै संरचनाको साथसाथै अरु संरचना पनि बनाउनुपर्ने अवस्थामा थिए  संघीयता कार्यान्वयनको महत्वपूर्ण अंग स्थानीय तह नै हुन् । संविधानमा उल्लेख भए बमोजिम पनि स्थानीय तह आफैले अस्पताल, विद्यालय तथा अरु कलकारखाना सञ्चालन गर्ने, स्थापना गर्ने लगायतका अधिकार पाएका छन् । यही अनुसार पनि स्थानीय तहले विभिन्न काम गरिरहेका छन् । 

रुकुम पश्चिमका ४ स्थानीय तहमा डाक्टर सहितका अस्पताल
रुकुम पश्चिमका ४ स्थानीय तहमा डाक्टर सहितका अस्पताल छन् । २ नगरपालिका र २ गाउँपालिकाले एमबीबीएस डाक्टर सहितका अस्पताल सञ्चालनमा ल्याएका हुन् । आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी त्रिवेणि गाउँपालिकाले एमबीबीएस डाक्टर सहितका अस्पताल सञ्चालनमा ल्याएका छन् ।

संविधानमा नगरपालिकाले २५ र गाउँपालिकाले १५ शैय्याका अस्पताल सञ्चालन गर्नुपर्ने उल्लेख छ । संविधानको कार्यान्वयन र जनतालाई सेवा प्रवाहका लागि भनेर स्थानीय तहले आफै अस्पताल सञ्चालनमा ल्याएका हुन् । कम्तिमा ससाना अप्रेशन, रोग र परामर्शका लागि जनता नगर तथा गाउँपालिका बाहिर जानु परेको छैन । नगर तथा गाउँपालिकामै सर्वसाधारणले सेवा पाइरहेका छन् । यसबाट सर्वसाधारणले सहज सेवा पाइरहेको बताएका छन् । 

आठबीसकोट नगर अस्पताल
आठबीसकोट नगरपालिकाले जिल्लामा सबैभन्दा पहिलो अस्पताल स्थापना गरेको हो । ९ नम्बर वडाको राडी स्थित पहिले स्वास्थ्य चौकी रहेको घरलाई नै अस्पताल भवन बनाएर सेवा प्रवाह थालिएको थियो । हाल नगरपालिकाले ठूलो र सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिसकेको छ । यद्यपी यो भवनबाट सेवा सुरु भने भइसकेको छैन ।

२०७५ असोज १२ गते अस्पताल उद्घाटन भएको थियो । त्यस यता सर्वसाधारणले निरन्तर चिकित्सकीय सेवा पाइरहेका छन् । यहाँ हाल डाक्टर शुशिल मण्डल प्यासाको नेतृत्वमा उपचार सेवा प्रवाह भइरहेको छ । अस्पतालका व्यवस्थापक विजयकुमार ओलीका अनुसार हालसम्म ३४ हजार ३ सय ८८ जनाले उपचार सेवा पाएका छन् । यसमा ५ सय ८१ जनाले भर्ना भएर सेवा लिएका छन् भने ८ सय ४८ जनाले सुत्केरी सेवा लिएका छन् ।

नगरपालिकाले कोरोना उपचारका लागि पनि आइसोलेसन निर्माण गरेको छ । यहाँ ८० जना भर्ना भएकामा ७९ जना निको भएर घर फर्केका थिए भने १ जनाको मृत्यु भएको थियो । व्यवस्थापक ओलीका अनुसार अस्पतालमा दैनिक ६० देखि ७० जना विरामी आउँछन् । आठबीसकोट नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकाको साथै जाजरकोटको नगलगाड नगरपालिका तथा डोल्पाको पनि केही क्षेत्रका सर्वसाधारण पनि उपचारका लागि यहाँ आउने गरेका छन् । 

सहिद स्मृति नमूना अस्पताल चौरजहारी
चौरजहारी नगरपालिकाले सहिद स्मृति नमूना नगर अस्पताल सञ्चालन गरिरहेको छ । १० नम्बर वडाको खोलागाउ“मा यो अस्पताल सञ्चालनमा रहेको छ । २०७७ को कात्तिक १४ गते अस्पताल उद्घाटन भएको थियो । माथिल्लो क्षेत्रमा रहेका वडालाई लक्षित गरी नगरपालिकाले यो अस्पताल सुरु गरेको हो । जनयुद्ध तथा अन्य विभिन्न आन्दोलनमा मृत्युवरण गरेका सहिदहरुको सम्झना तथा सम्मानमा अस्पताल बनाइएको हो ।

अस्पतालमा स्थापनाकालदेखि नै डाक्टर विवेक केसी नेतृत्वको स्वास्थ्यकर्मी टोलीले उपचार दिइरहेको छ । नगरपालिकाका स्वास्थ्य संयोजक डण्डप्रसाद शर्माले एक वर्षको अवधिमा अस्पतालले ११ हजार ७ सय ७४ जनाको उपचार गरेको जानकारी दिनुभयो । जसमा ३ सय ५१ जना भर्ना भएकामा ३ सय ३९ जना निको भएर घर फर्किएका थिए ।

३ हजार ९ जनाले ल्याब सेवा लिएका छन् । ६ सय ८४ जनाले एक्सरे सेवा लिएका छन् । संयोजक शर्माका अनुसार ६ सय ६२ जनाले भिडियो एक्सरे सेवा लिँदा १ सय ४३ जनाले प्रसुती सेवा लिएका छन् । अस्पतालले सकेसम्म सबै खाले सेवा प्रवाह गरिरहेको शर्माको भनाई छ । गाउँ, घर नजिकै रहेको अस्पतालबाट सर्वसाधारणले सकेसम्म धेरै स्वास्थ्य सुविधा लिएको शर्माले बताउनुभयो । 

छोटेबगरमा गाउँपालिका अस्पताल
सानीभेरी गाउँपालिकाको छोटेबगरमा रहेको स्वास्थ्य चौकी अब अस्पताल भएको छ । ७ नम्बर वडाको स्वास्थ्य चौकीलाई गाउँपालिकाले अस्पताल बनाएको हो । २०७६ फागुन २ गते अस्पतालको उद्घाटन भएको थियो । त्यसयता डाक्टर कविन बस्नेतले निरन्तर सेवा प्रवाह गरिरहुन भएको छ ।

स्वास्थ्य चौकीलाई नै गाउँपालिका अस्पताल बनाएपछि विरामीले सुविधा पाएका छन् भने सामान्य रोग र चोटपटकका लागि बाहिर जानुपर्ने बाध्यता टरेको छ । अस्पताल उद्घाटन भएयता गत असारसम्म गाउँपालिका अस्पतालमा १२ हजार ५ सय २५ जनाले सेवा लिएका छन् । २ सय ७० जनाले सुत्केरी सेवा लिएका छन् ।

यस अस्पतालमा कोभिड बाहेकका विरामीले भर्ना सेवा भने लिएका छैनन् । अस्पताल व्यवस्थापक कर्णबहादुर बुढाथोकीले अस्पतालले सकेसम्म धेरै सेवा दिन प्रयास गरिरहेको बताउनुभयो । अस्पतालको नयाँ भवन निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । अहिलेकै संरचनामा पनि विरामी भर्ना सहितको उपचार सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाले बजेट विनियोजन गरेर निरन्तर डाक्टरलाई अस्पतालमा राखेको उहाँले बताउनुभयो । 

त्रिवेणि ग्राम अस्पताल
त्रिवेणि गाउँपालिकाले ग्राम अस्पतालको रुपमा डाक्टर सहितको सुविधा प्रदान गरिरहेको छ । ३ नम्बर वडाको खारानेटामा २०७५ फागुन ६ गते अस्पताल स्थापना भएको थियो । अस्पताल स्थापना पहिल्यै भएपनि डाक्टर नियमित बस्न थालेको भने एक वर्ष भएको छ । डाक्टर छवि नेपाली नेतृत्वको स्वास्थ्यकर्मी टोलीले यो अस्पतालबाट सेवा प्रवाह गरिरहेको छ ।

हालसम्म अस्पतालबाट ३ हजार ६ सय ४५ जनाले सेवा लिएका छन् । ४२ जना कोरोना संक्रमितको उपचार भएको थियो । गत साउन यता ८ जनाले सुत्केरी सेवा लिएको गाउँपालिकाका स्वास्थ्य सह संयोजक बीरबहादुर डाँगीले जानकारी दिनुभयो । अस्पताल उद्घाटन भएको लामो समयसम्म सामान्य सेवा प्रवाह भएपनि डाक्टर आएदेखि थप सेवा प्रवाह भइरहेको सह संयोजक डाँगीको भनाई छ । 

बाँफिकोटमा जग्गा प्राप्ती
बाँफिकोट गाउँपालिकाले अस्पताल बनाएको छैन । यद्यपी अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया भने अघि बढाएको छ । अस्पताल निर्माणका लागि ४ नम्बर वडाको छिन्खेतमा जग्गा प्राप्त भएको छ । ३ हजार ८ सय एक ठाउँ र ४ सय अर्को ठाउँमा गरी ४ हजार २ सय बर्गमिटर अस्पतालका लागि प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागि ठेक्का लागेपछि थप काम हुने उहाँले बताउनुभयो । कार्यपालिकाले अस्पताल निर्माणका लागि निर्णय गरेको र सकेसम्म छिटै अस्पताल निर्माणको कार्य थालनी हुने जनाइएको छ । कोरोना महामारीका बेला भने गाउँपालिकाले विभिन्न भवन र ठाउँको उपयोग गरी व्यवस्थापन गरेको थियो । 

मुसीकोटमा जिल्ला अस्पताल
मुसीकोट नगरपालिकाले आफै अस्पताल बनाएको छैन । बनाउने निर्णय भने भएको छ । ४ नम्बर वडाको सोलावाङमा अस्पताल बनाउने निर्णय कार्यपालिकाले गरेको छ । जिल्ला अस्पताल यही नगरपालिकामा रहेकाले नगरको केन्द्र बाहिर अस्पताल बनाउने योजनामा नगरपालिकाले छ ।

नगरपालिकाले ६ नम्बर वडामा ल्याब सेवा पनि सुरु गरेको छ । कार्यपालिकाका एक सदस्यका अनुसार ल्याब सेवा सञ्चालन भइरहेको र सोलावाङ अस्पताल बनाउने निर्णय पहिल्यै भएपनि प्रक्रिया भने अघि नबढेको हो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update