Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश दक्षिण कोरीया समाजको न्यानो बाँडौ अभियान
कर्णाली प्रदेश दक्षिण कोरीया समाजले हुम्लाको एक विद्यालयका बालबालिकालाई वितरण गरेको न्यानो कपडा ।

कर्णालीका ६ जिल्लामा न्यानो बाँडौं अभियान सम्पन्न भएको छ । कर्णाली प्रदेश दक्षिण कोरीया समाजले कर्णालीका ६ जिल्लामा न्यानो कपडा वितरण गरेको हो । यस अभियान अन्तर्गत चिसोबाट सुरक्षा गर्न विद्यालयमा गइरहेका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । ‘दश हजार वोन संकलन गरौं, कर्णालीलाई न्यानो बाँडौं,’ भन्ने मुल नारा सहित हुम्ला, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र रुकुम पश्चिमका ३ सय १६ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।

दुर्गमका विद्यालय छनौट गरेर कपडा प्रदान गरिएको कर्णाली प्रदेश समाज दक्षिण कोरीयाका सल्लाहकार सन्तोष खड्काले जानकारी दिनुभयो । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घर भइ दक्षिण कोरीयामा कार्यरत युवाहरुले प्रतिव्यक्ति दक्षिण कोरीयाली दश हजार वोन संकलन गरी बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । यसको संयोजन कर्णाली प्रदेश दक्षिण कोरीया समाजले गरेको हो ।  यो समाजले विगतदेखि नै यस्ता सामाजिक काम गर्दै आएको छ । यस अघि वर्षातमा बाढीपहिरोबाट क्षेती व्यहोरेका सर्वसाधारणका लागि राहत वितरण गरिएको थियो ।

कर्णाली प्रदेश दक्षिण कोरीया समाजका अध्यक्ष प्रकाश बस्नेतले जाजरकोट, रुकुम पश्चिम, दैलेख, मुगुका बाढी पहिरो पीडितलाई खाद्यान्न सामग्री, लत्ताकपडा, भाँडाकुँडा प्रदान गरेको जानकारी दिनुभयो । मुगुमा भएको आगलागीमा परेर पीडित बनेका परिवारलाई पनि यो समाजले राहत प्रदान गरेको थियो । कोरोना महामारी व्यापक भइरहेका बेला कर्णाली प्रदेशका सबै स्थानीय तह र १० वटा जिल्ला प्रशासन कार्यालयमा थर्मल गन वितरण गरिएको थियो । १ सय २० वटा थर्मल गन सबैतिर पुयाईएको थियो । कर्णाली प्रदेश दक्षिण कोरीया समाजमा ५१ बढी युवा आवद्ध छन् भने सहयोग अरु धेरैले पनि गर्दै आइरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update