नेपाली कांग्रेस रुकुम पश्चिमले छानविन समिति बनाएको छ । पुस २८ र २९ गते बसेको जिल्ला कार्य समितिको बैठकले महाधिवेशन प्रतिनिधि किनबेच गरिएको भनेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा व्यापक बनेको विषयमा छानविन गर्ने निर्णय गरेको हो ।
जिल्ला उपसभापति हर्कसिङ खत्रीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाइएको छ । सहसचिव यज्ञबहादुर विष्ट, प्रेमबहादुर खड्का, जिल्ला कार्य समिति सदस्य तुल्सीराम बुढाथोकी र दिपक शाही छानविन समितिका अरु सदस्य तोकिएका छन् । २१ दिन भित्र प्रतिवेदन बुझाउने गरी छानविन समितिले अख्तियारी पाएको छ ।
अधिवेशनताका विभिन्न सञ्चार माध्याममा आएको, सामाजिक सञ्जालमा व्यापक बनेको विषयलाई जिल्ला कार्य समितिमा सबैले उठाएपछि छानविन समिति बनेको संयोजक खत्रीले बताउनुभयो । ‘अधिवेशनताका उठेको विषय जिल्ला कार्य समितिको बैठकमा पनि सबैबाट उठान भयो,’ संयोजक खत्रीले भन्नुभयो, ‘त्यसको सत्यतथ्य छानविनका लागि २१ दिने म्याद सहितको छानविन समिति जिल्ला कार्य समितिको बैठकबाट बनेको छ ।’ समितिको पहिलो बैठक गरेर छानविनको प्रक्रिया अघि बढाउने संयोजक खत्रीले जानकारी दिनुभयो ।
सम्बन्धित सबै पक्ष, निकाय, सरोकारवाला व्यक्ति सँग सोधपुछ गरी सकेसम्म देखिएको कुरा प्रतिवेदन मार्फत पार्टीलाई बुझाउने खत्रीले बताउनुभयो । छानविन समितिलाई सहयोग गर्न सम्बन्धित सबैलाई उहाँले अनुरोध पनि गर्नुभएको छ । बाहिर आएको जस्तै हो वा अवस्था फरक हो यस विषयमा प्रष्ट होस भनेर छानविन समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।
जिल्ला सचिव परमेश्वर भण्डारीले विज्ञप्ती मार्फत जिल्ला कार्य समितिको बैठक बसेको र बैठकले छाविन समिति गठन गरेको जानकारी गराउनु भएको छ । गत मंसिर ६ देखि एक सातासम्म चलेको सातौं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि किनबेच भएको आरोप लागेको छ ।
विशेष गरी गोपाल जिजंग शाह, मानबहादुर नेपाली, कृष्णबहादुर रोकाय र प्रेमप्रकाश ओलीले महाधिवेशन प्रतिनिधि किनबेच गरेको आरोप कार्यकर्ताले लगाएका छन् । अधिवेशनका क्रममा सहमतिमा नेतृत्व चयन गर्ने भन्दै शाह, नेपाली, रोकाय र ओली सम्मिलित ४ सदस्यीय कार्यदल बनेको थियो ।
कार्य दलले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई नभइ केही व्यापारी, पैसवालालाई नगदमा महाधिवेशन प्रतिनिधि बेचेको आरोप कार्यकर्ताले लगाएका छन् । विभिन्न सञ्चार माध्यममा पनि यो विषय सार्वजनिक भएको थियो भने नेपाली कांग्रेसका कार्यकर्ताले पनि सामाजिक सञ्जाल मार्फत यो विषय उठाइरेहका छन् ।