
नेपाली कांग्रेसले विरोध प्रर्दशन गर्दै छ । प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले आज गाउँ, नगर, उपमहानगर तथा महानगरपालिकामा विरोध प्रर्दशन गर्न लागेको हो । रुकुम पश्चिममा पनि कांग्रेसले विरोध प्रर्दशनको तयारी गरेको छ । जिल्लाका ६ मध्य ४ स्थानीय तहमा विरोध कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।
मुसीकोट नगरपालिकाको खलंगामा, चौरजहारी नगरपालिकाको खोलागाउँमा, आठबीसकोट नगरपालिकाको गोतामकोट र त्रिवेणि गाउँपालिकाको पेदिखेतमा विरोध कार्यक्रम हुने नेपाल विद्यार्थी संघका नेता तारक केसीले जानकारी दिनुभयो । केसीका अनुसार खलंगाको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, गोतामकोटको कार्यक्रममा महासमिति सदस्य वेदराज सिंहले सम्बोधन गर्ने कार्यक्रम छ । खोलागाउँ र पेदिखेतको विरोध सभालाई जिल्लाकै नेताहरुले सम्बोधन गर्नेछन् ।
देशका सबै स्थानीय तहमा विरोध कार्यक्रम गर्ने गरी निर्णय गरिएपनि सानीभेरी र बाँफिकोट गाउँपालिकामा भने कांग्रेसले विरोध कार्यक्रम आयोजना गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध देशभर प्रर्दशन गर्ने केन्द्रीय कार्य समितिको निर्णय अनुसार कांग्रेसले यो कार्यक्रम गर्न लागेको हो । यसैबीच रुकुम पूर्वमा पनि विरोध प्रर्दशनको तयारी गरिएको कांग्रेसले जनाएको छ ।