Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि कोरोना विरुद्धको खोप लगाउन सुरु

रुकुम पश्चिममा पनि कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु भएको छ । देशव्यापि कार्यक्रम अनुसार जिल्लामा पनि आजबाट कोरोना विरुद्धको खोप कोभिडशिल्ड लगाउन सुरु भएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईमा खटिने कर्मचारीलाई लगाउने कार्यक्रम अनुसार जिल्लामा खोप लगाउन सुरु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लामा पहिलो खोप बिष्णुवहादुर बुढाथोकीले लगाउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाथोकीले जिल्लामा पहिलो व्यक्तिका रुपमा खोपको पहिलो डोज लगाउनुभयो ।

त्यस्तै दोस्रोमा मुसीकोट नगरपालिकाका स्वास्थ्य संयोजक मानवहादुर खत्रीले खोप लगाउनुभयो । पहिलो चरणमा जिल्लामा साढे ७ सय जनाले कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । अहिले जिल्लामा २ सय ३८ भाईल खोप आएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले बताउनुभयो । यो खोप ११ सय बढीलाई लगाउन पुग्ने उहाँको भनाई छ । २५ भाईल खोप चौरजहारी अस्पतालमा पठाईएको र बाँकी खोप स्वास्थ्य सेवा कार्यालयमै राखिएको छ ।

खोपका लागि अहिलेसम्म साढे ७ सयको नाम सिस्टममा दर्ता भएको र यसमा छुटेकाहरु थपिने उहाँले बताउनुभयो । बचेको खोप सुरक्षित रहने र दोस्रो चरणमा लगाउन प्रयोग हुने उहाँले बताउनुभयो । भारतले अनुदानमा उपलब्ध गराएको खोप सरकारले देशभरमा पठाएपछि आजबाट पहिलो चरणको खोप लगाउन सुरु भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update