Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रहरी कार्यालयको गेटमै धर्ना
धर्नामा बसेकाहरु ।

विद्यार्थीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको गेटमै धर्ना दिएका छन् । मंगलबार दिउँसो १ बजेदेखि २ बजेसम्म विद्यार्थीहरुले प्रहरीको गेटमा धर्ना दिएका हुन् । अनेरास्ववियूको नेतृत्वमा धर्ना दिइएको हो । विद्यार्थीलाई ठगेको टिएनटी टेक्निकल कलेजका सञ्चालकलाई पक्राउ नगरेको भन्दै विद्यार्थीहरुले दवाव स्वरुप धर्ना दिएका हुन् । प्राविधिक शिक्षा पढाउने भनेर सञ्चालन गरिएको उक्त कलेजले विद्यार्थीलाई ठगेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानविन समितिले उक्त कलेजले विद्यार्थीको समय र रुपैयाँ ठगेको निष्कर्ष निकालेको थियो ।

सोही निष्कर्षका आधारमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आवश्यक कारबाहीका लागि प्रहरीलाई चिठी लेख्नुभएको थियो । विद्यार्थीले पनि कलेजका सञ्चालक तिलक डाँगी विरुद्ध ठगि मुद्दा दर्ता गरेका छन् । मुद्दा दर्ता भएको १२ दिन सम्म पनि पक्राउ नगरेको भन्दै विद्यार्थीले दवाव दिएका हुन् । ३३ जना विद्यार्थीलाई ठगेको उजुरी प्रहरीमा परेको छ । उजुरी पर्दा समेत कलेज सञ्चालकलाई पक्राउ नगरेपछि पक्राउ गर्न दवाव पुगोस् भनेर एक घण्टा धर्ना दिइएको अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य विशाल विष्टले जानकारी दिनुभयो । धर्नामा अनेरास्ववियूका केन्द्रीय अनुशासन आयोगका सदस्य तुलबहादुर देवकोटा, जिल्ला संयोजक शुशिल विष्ट तथा पीडित विद्यार्थीहरु सहभागि भएका थिए ।

प्रहरीले भने कारबाही प्रक्रिया अघि बढिरहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले मुद्दा दर्ता भइसकेकाले आत्तिनु नपर्ने बताउनुभयो । मुद्दा दर्ता भएपछि कलेज सञ्चालक तिलक डाँगी फरार रहेको उहाँले बताउनुभयो । ठगि मुद्दाको हदम्याद एक वर्षको हुने भएकाले ढिलोचाँडो प्रहरीले प्रक्रेरै छाड्ने डिएसपी श्रेष्ठले बताउनुभयो । एक जना सञ्चालकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको भन्दै उहाँले फरारलाई पनि पक्राउ गरेर कानूनी दायरामा ल्याउने बताउनुभयो । विद्यार्थीहरुले भने प्रहरीको पनि मिलेमतो रहेको आशंका गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update