Kakhara सबैको खबर सम्पूर्ण खबर
‘जनन्यायधिश’देखि वडाध्यसम्मको यात्रामा पाण्डे
पदभार ग्रहणका क्रममा वडाध्यक्ष पाण्डे ।

अधिवक्ता एक्कबहादुर पाण्डे वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७, को अध्यक्षमा निर्वाचित पाण्डेले पदभार ग्रहण गरी कार्यारम्भ समेत गरिसक्नुभयो । विभिन्न पेशा, व्यवसायमा आवद्ध पाण्डे अन्तत मुलधारको राजनीतिमा फर्कनुभएको छ ।  ५२ वर्षीय पाण्डे वैशाख पहिलो सातासम्म जिल्लामा गणिने मध्यका एक वकील हुनुहुन्थ्यो । 

अब पाण्डेको भूमिका फेरिएको छ । पहिचान फेरिएको छ । उहाँ अब जनप्रतिनिधि भइसक्नुभयो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पाण्डे वडाध्यक्षमा निर्वाचित भएपछि वडाको पदभार ग्रहण गरेर कामकाज थालिसक्नुभएको छ । मनोनयन दर्ता लगत्तै गाउँ पसेका पाण्डेले मतदाताको मन जित्नुभयो । एमाले–कांग्रेस गठबन्धनका एकराज पाण्डेलाई ८२ मतान्तरमा पराजित गर्दै उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडाध्यक्षको कुर्सीमा पुग्दासम्म पाण्डेले विभिन्न भूमिका निर्वाह गर्नुभएको छ ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुुद्धमा सहभागि हुनेदेखि, वकीलहरुको संस्था नेपाल बार एसोसियसनको जिल्ला अध्यक्ष सम्मको जिम्मेवारी उहाँले कुशलतापूर्वक निर्वाह गर्नुभयो । रुकुम जिल्ला अदालतको वैतनिक वकील भएर पनि पाण्डेले काम गर्नुभएको छ  । २०५४ सालमा माओवादीको पूर्णकालिन कार्यकर्ता बनेर पाण्डे जनयुद्धमा हिड्नुभएको थियो ।

पूर्णकालिन भएर हिडेपछि उहाँले फरक जिम्मेवारी पाउनुभयो । कानून पढेकै कारणले पाण्डेले जनयुद्धमा जनन्यायधिशको पद पाउनुभयो र न्याय सम्पादनको काम गर्नुभयो । तत्कालिन समयमा माओवादीले जनताबाटै न्यायधिश पनि चुन्ने गर्दथे । जनताले चुनेका न्यायधिश भएकाले पाण्डेले जनन्यायधिशको काम गर्नुभयो । २०५६ सालदेखि २०६५ सालसम्म उहाँले निरन्तर माओवादी भित्र जनन्यायधिशको काम गर्नुभयो ।

शान्ति स्थापनापछि उहाँ सार्वजनिक वकालतमा आउनुभयो । रुकुम जिल्ला अदालत तथा अरु विभिन्न जिल्ला अदालतमा बहस गर्ने वकीलको परिचय उहाँले बनाउनुभएको छ । सोही क्रममा उहाँले रुकुम जिल्ला अदालतको वैतनिक वकीलको जागिर गर्नुभयो । दुई कार्यकाल नेपाल बार एसोसियसन रुकुमको अध्यक्ष भएर बारको संगठन चलाउनुभयो । 

अब पाण्डेको भूमिका फेरियो । ‘अदालतमा अदालती बहस गरिरहेको मान्छे अब फरक बहसका लागि तयार भएको छु,’ पाण्डेले भन्नुभयो, ‘जनयुद्ध र त्यसपछि पनि एउटै विषयमा बहस गरिरहेका म अब वडाको सम्पूर्ण विषय र मुद्धाको बहसमा समाहित हुने भूमिकामा पुगेको छु ।’ विकास निर्माण, न्याय, अन्याय, शिक्षा, स्वास्थ्य लगायतमा जनप्रतिनिधिको हैसियतमा गर्न मिल्ने सम्मको बहस र पैरवी तथा अरु काम गर्ने पाण्डेले बताउनुभयो ।

‘राजनीतिप्रति रुचि रहेकै कारण आफू वडाध्यक्षमा आएको हुँ,२०४३ सालदेखि नै राजनीतिमा रुचि राखेको मान्छे हुँ,’ उहाँले भन्नुभयो भने, ‘विभिन्न कारणले त्यो अवसर जुरेको थिएन अहिले जुरेको अवसरको सदुपयोगका लागि सचेत भएर लाग्नेछु ।’ ‘वकालत पेशा हो, राजनीति सेवा हो, पेशाबाट सेवातर्फ लागिएको छ सकेसम्म धेरै सेवा गर्ने उद्देश्य राखेको छु,’ पाण्डेले थप्नुभयो । ३२ वर्षदेखि राजनीतिमा चासो राखेको व्यक्ति राजनीतिको मुल धारमा आउनु स्वभाविक भएको बुझाई उहाँको छ । जनताको सेवालाई सर्वोपरी राखेर कार्य सम्पादन गर्ने प्रतिबद्धता पदभार ग्रहणका क्रममा गरेको पाण्डेले बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update