Kakhara सबैको खबर सम्पूर्ण खबर
वडा हाक्दै ‘वकील’

एक्कबहादुर पाण्डे ‘एनान’ । जसले १३ वर्ष वकालत गर्नुभयो । माओवादी शान्ति प्रक्रियामा आईसकेपछि पाण्डे स्थानीय तहको निर्वाचन २०७९ अघिसम्म अधिवक्ता हुनुहुन्थ्यो । वकालतका हिशावले उहाँको यो भन्दा लामो अनुभव छ । तत्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धका क्रममा उहाँले लामो समय जनन्यायाधीशका रुपमा काम गर्नुभयो । २०५७ सालमा माओवादीले साविकको रुकुमबाट पहिलो पटक जनसरकार गठन गरेको थियो । त्यसको एक वर्षपछि पाण्डे जिल्ला जनसकार रुकुमको सदस्य हुनुभयो । २०५९ सालमा भने उहाँले जनसरकारको न्यायाधीशको जिम्मेवारी पाउनुभयो । उहाँले शान्ति स्थापना हुँदासम्मै जनन्यायाधीशको भुमिका सम्माल्नुभयो । २०६३ को मंसिरसम्म जनअदालतबाट मुद्दा छिनेको स्मरण गर्नुहुन्छ पाण्डे । जनअदालतबाट करिब १ हजार बढी मुद्दामा फैसला गर्नुभएका पाण्डेले शान्ति स्थापनापछि अधिवक्ताका रुपमा यो भन्दा ठूलो संख्याका मुद्दामा वकालत गर्नुभएको छ ।

पाण्डेको राजनीतिक यात्रा २०४७ सालबाट सुरु भएको हो । तत्कालिन समयमा उहाँ मोटो मसालको सेल समिति सदस्य भन्नुभएको थियो । २०५२ मा माओवादीले जनयुद्ध सुरु गरेपछि उहाँ पनि युद्धमै होमिनुभयो । सुरुवातमा सूचना तथा सञ्चारको जिम्मेवारीमा रहेर पार्टीका लागि काम गर्नुभएका पाण्डे २०५६ सालबाट भने पार्टीमा पूर्णकालिन हुनुभयो । २०५२ देखि २०५६ सम्म उहाँ पार्टीको एरिया सदस्य हुनुहुन्थ्यो । 

पार्टीको आग्रहमा वडाध्यक्ष 
५२ वर्षिय पाण्डे २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट मुसीकोट नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार पाण्डेले विजयी हाँसिल गर्नुभयो । पार्टीको आग्रहमै आफु वडाको नेतृत्व सम्हाल्न आईपुगेको उहाँको भनाई छ । ‘म २०५२ सालबाटै ‘जनयुद्ध’मा होमिए, पार्टीले दिएको जिम्मेवारी सम्हाले उहाँले भन्नुभयो–शान्ति स्थापनापछि पनि पार्टीले भनेको काम गरिरहेको थिएँ, अहिले वडाध्यक्षको चुनाव लड्नुपर्छ भन्यो मैले हुन्छ भने ।’ पार्टीको कार्यकर्ता भएकोले पार्टीले दिएको जिम्मेवारी र अह्राएको काम आफुले गरिरहेको उहाँ बताउनुहुन्छ । आफ्नो राजनीतिप्रतिको इन्ट्रेस्ट र आवश्यकताले यहाँसम्म ल्याईपुर्याएको उहाँलाई लाग्छ ।  

Pandya 11661581696.jpg

पाँच वर्षे प्राथमिकता
वडा नम्बर ७ सदरमुकामबाट नजिक छ । भौगोलिक हिशावले पनि सुगम मानिन्छ । मध्यमहाडी लोकमार्गले सहज यातायात आवागमण रहेको वडामा सूचना सञ्चारको पनि राम्रै पहुँच छ । साँस्कृतिक रुपमा सम्पन्न वडा पर्यटकीय सम्भावनाले पनि भरिपूर्ण छ । तर वडामा सामाजिक विकासको मुख्य आवश्यकता देख्नुहुन्छ वडाध्यक्ष पाण्डे । शिक्षाको गुणस्तर वृद्धि गर्ने र सामाजिक विकासलाई मख्य प्राथमिकतामा राखेर आफुहरु अगाडी बढेको भनाई उहाँको छ । ५ वर्षे कार्यकालमा एक घर एक धाराको योजनालाई पूर्णता दिने, वडामा प्राविधिक शिक्षाको सुरुवात गर्ने, वडाका सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने, टोल टोलमा वाईफाईको सुविधा पुर्याउने, कृषि तथा पशु पकेट क्षेत्र विकास गरी कृषि र पशुमा व्यवसायिकता बढाउने, परम्परागत कला संस्कृतिको संरक्षण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । 

योजनाहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै लैजाने उहाँले बताउनुभयो । यो वर्ष वडामा करिब पौने तीन करोड जति बजेट छ । चालु आर्थिक वर्ष २०७९/०८० मा वडाका मुख्य विषयगत योजनाहरु यस्ता छन्ः 

शिक्षाः
शिक्षा अन्तरगत वडामा यो वर्ष विद्यालय भवन निर्माणका योजना छन् । जनजागृति माविमा २ कोठे भवन र आईसिटी ल्याब स्थापनाको कार्यक्रम छ । भवनका लागि १८ लाख र ल्याबका लागि साढे ६ लाख बजेट छ । यही विद्यालयमा कम्प्युटरका लागि वडाले २ लाख बजेटको व्यवस्था गरेको छ । वडामा रहेको विद्यालय सूर्योदय आधारभूत विद्यालय खालबोटमा ४ कोठे भवन निर्माणको योजना छ । यसका लागि ३६ लाख बजेट छ ।  

Pandya1661581699.jpg

स्वास्थ्यः 
वडाले स्वास्थ्य चौकी भवनका लागि जग्गा खोजी गरिहेको छ । जग्गा प्राप्त भएमा नयाँ भवन निर्माणका लागि पहल गर्ने योजना वडाको छ । त्यस्तै स्वास्थ्य चौकीलाई विभिन्न सामग्री खरिदका लागि १ लाख बजेट छ । 

पूर्वाधार तर्फः 
पूर्वाधार तर्फ सडक, गोरेटो र घाडेटो बाटोहरु रहेका छन् । ग्याम्मा खोला जोड्ने सडकका लागि ६० लाख बजेट छ । पानीगैरा–खारादह पदर्माग निर्माणका लागि १ लाख, नाप्चाखोला–तिर्सिङ–चौतारा घाडेटो बाटोको लागि १ लाख, वडा कार्यालय–तलिगाउँ सडक स्तरोन्नतिका लागि १ लाख, वैरीदह–खालबोट कृषि सडकका लागि ५ लाख, मध्यपहाडी–जुरबोट–ब्रह्माथान पिसिसी गोरेटो बाटोको लागि ५ लाख, चक्चारी–ठूलीदह गोरेटो बाटोको लागि ५ र टाकुरबारा–लामाटाकुरा–तातागैरा सडकका लागि ५ लाख रुपैंया छ ।

त्यस्तै ठूला पधेँरा–पाल्नागाउँ पिपिसी गोरेटो बाटोका लागि ५ लाख, झुल्खेत मोटरबाटोका लागि ५ लाख, लुद्रवाङ–बुकीडाँडा सडक विस्तार ५ लाख, रोटी–जगदेउछरा–च्यार्नेटा घोडेटो बाटो ५ लाख, ठूला पधेँरा मुहान संरक्षण तथा स्वास्थ्य चौकी गोरेटो बाटो ५ लाख र वडा कार्यालय व्यवस्थापन ३ लाख बजेट छ । यसका अतिरिक्त पूर्वाधार तर्फ देवीगण–पाछा–हिवरीखोला–दोभान गोरेटोबाटो ४ लाख, लाङ्सीवाङ–तातापानी–झुसेवाङ गोरेटो बाटो २ लाख, गोरेखोला–मूलडाँडा–वारखोला गोरेटो बाटो ४ लाख र वासीना–झारीगाउँ–गौरेकाफल गोरेटो बाटो २ लाख रहेको छ । 

सिँचाई तर्फः
चालु वर्षमा सिँचाईका आधा दर्जन योजना छन् । खारखोला–तिर्सिङ–खावाङ–चेत्रेखोला सिँचाई कुलो निर्माण १० लाख, तातापानी–लाङ्सीवाङ सिँचाई कुलो ८ लाख, ठूला पधेँरा–चौरपोखरी सिँचाई कुलो ५ लाख, घट्टेखोला–लाङ्सीवाङ सिँचाई कुलो ५ लाख र हिवरीखोला–ढोटखोला सिँचाई कुलो निर्माणका लागि १५ लाख रहेको छ । 

Pandya 21661581697.jpg

खानेपानीः
वडाले पाँच वर्षमा सबै घरमा खानेपानी पुर्याउने लक्ष लिएको छ । जसअन्तरगत यो वर्ष सागिने खानेपानी मुहान संरक्षणका लागि १ लाख, कोलबोट–मूलडाँडा खानेपानी योजना निर्माण ५ लाख, लालवाङ–माथिगाउँ लिफ्ट खानेपानी योजनाका लागि १० लाख र काउलेनी–उचाल्ने लिफ्ट खानेपानी योजनाका लागि २५ लाख बजेट विनियोजन भएको छ । 

पर्यटनः 
वडा पर्यटन प्रवद्र्धनका हिशावले राम्रो सम्भावनायुक्त छ । वडाको साँख गाउँमा रमणिय दह छ । मनै लोभ्याउने साँख गाउँ । ठूली दह, सानी दह सहित अन्य दह । थुप्रै स्थानलाई पर्यटकिय हिशावले विकास गर्न सकिन्छ । वडाले पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखेको छ । यो वर्ष साँख गाउँमा मुसीकोट पार्क निर्माणका लागि ७५ लाख बजेट छ । त्यस्तै ठूली दह, सानी दह संरक्षणका लागि ६० लाख बजेट प्राप्त भएको छ । 

अन्य तर्फ
पापिनी मेला, पैसेरु नाच, सिंगारु नाच, पञ्चेबाजा लगायतको संरक्षणका लागि १ लाख, जेष्ठ नागरिक सम्मानका लागि २ लाख, जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि १ लाख ५० हजार बजेट रहेको छ । त्यस्तै पापिनी मेला, खेलकुद, चाडपर्व, सुरक्षा व्यवस्थापन, क्षमता विकासका लागि वडासंग ३ लाख रुपैंया रहेको छ । 

Pandya31661581701.jpg

चुनौतीः 
वडाले विभिन्न विषयलाई चुनौतीका रुपमा लिएको छ । पहिलो चुनौती बजारीकरणको छ । वडामा उत्पादन हुने कृषि उपजले सजिलै बजार पाउने अवस्था छैन् । कृषि उपजलाई बजारसंग जोडि कृषि मार्फत वडावासीको आयस्रोतलाई बढाउने मुख्य चुनौती रहेको वडाध्यक्ष पाण्डे बताउनुहुन्छ । शिक्षाको गुणस्तर बृद्धि पनि चुनौतीका रुपमा रहेको छ । वन संरक्षण र वडावासीको स्वास्थ्य सम्बन्धी आनीबानी सुधार पनि चुनौतीका रुपमा छ, पाण्डे भन्नुहुन्छ । 

मुसीकोट ७ का वडा अध्यक्ष एक्कबहादुर पाण्डेसंगको कुराकानीमा आधारित ।

kakhara.com ले वडाध्यक्षका योजना, वडामा भएका विकास निर्माण, समस्या, चुनौती लगायतका विषयलाई समेटर वडा विशेष प्रकाशित गर्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update