
नेपालले एक खेल अगावै केन्या विरुद्धको एकदिवसिय श्रृंखला जितेको छ । आज भएको दोस्रो खेलमा केन्यालाई १७ रनले पराजित गर्दै नेपालले तीन एक दिवसिय श्रृङखला एक खेल अगावै जितेको हो । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो ।
केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक÷एक विकेट लिए ।
यसअघि नैरोबीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगोचे र विराज पटेलले दुई/दुई विकेट लिए ।
जितसँगै नेपालले तीन खेलको शृङ्खलामा दुई–शून्यको अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार हुने छ ।