
नेपालले केन्या विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेल पनि जितेको छ । यो संगै नेपालले केन्यासँगको एकदिवसीय अभ्यास खेलको श्रृङखला ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हराउन सफल भयो ।
केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक÷एक विकेट लिए ।
यसअघि केन्याको राजधानी नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई÷दुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एक÷एक विकेट लिए ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई सात विकेटले हराउँदा दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृङखला पनि नेपालले ३–२ ले जितेको थियो ।