Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक सञ्जालमा जोडिदै ‘भेरीपारी’
बाँफिकाेट गाउँपालिका वडा नम्बर १० काे ठाँटी आसपासको क्षेत्रमा खनिएकाे सडक ।

नजिक रहेर पनि दुर्गम बाँफिकोट गाउँपालिका वडा नम्बर १० लगायतका ठाउँ सडक सञ्जालमा जोडिदै छन् । सानीभेरी गाउँपालिका हुँदै बाँफिकोट गाउँपालिकामा पर्ने सानीभेरी पारीपट्टीको भगोल अव छिट्टै सडक सञ्जालमा जोडिन लागेको छ । 

अव करिब साढे ५ सय मिटर ट्रयाक ओपन भएमा भेरीपारी पहिलो पटक सडक सञ्जालमा जोडिने बाँफिकोट गाउँपालिका वडा नम्बर १० का अध्यक्ष हरि चन्दले जानकारी दिनुभयो । सानीभरी गाउँपालिका वडा नम्बर ९ को सिम्ली देखि सानीभेरी र बाँफिकोटको सिमाना मैदुलोटेसम्म ट्रयाक खुलिसकेको छ । 

अर्कोतिर बाँफिकोट गाउँपालिका वडा नम्बर १० गाराघाट देखि घरेलीसम्म सडकको ट्रयाक खोलिएको छ । कडा चट्टान भएको ठाउँमा ट्रयाक खोलिसकिएको र अव सहज ठाउँमा ट्रयाक ओपनको काम बाँकी रहेको वडाध्यक्ष चन्दले बताउनुभयो । कडा चट्टान मध्यको करिब ५० मिटर जतिमा मात्र सडक निर्माणको काम बाँकी रहेको उहाँको भनाई छ । 

उहाँका अनुसार त्यसपछि ५ सय मिटर जति ट्रयाक खुल्न बाँकी रहने छ । तिहार लगत्तै ट्रयाक निर्माणको काम सक्ने तयारी भइरहेको उहाँले बताउनुभयो । गतवर्षकै बजेटबाट यो वर्षपनि काम चलिरहेको छ । गत वर्ष २ वटा प्याकेज अन्तरगत प्रति प्याकेज ९८ लाखका दरले २ प्याकेजको १ करोड ९६ लाख बजेट आएको थियो । 

गाराघाट देखि मैदुलोटेसम्म करिब ४ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा यो प्याकेजबाट करिब १२ सय मिटर बाटो निर्माण गर्नुपर्ने छ । बाँकी सडकको ट्रयाक बाँफिकोट गाउँपालिकाले खोलेको थियो । २०७५ सालमा १ करोड ४० लाख बजेट विनियोजन गरिएकामा ५० लाख फिर्ता गएको थियो भने ९० लाखको काम भएको थियो । 

गाराघाट देखि मैदुलोटेसम्मको ट्रयाक खोल्न २ करोड ८६ लाख रुपैंया खर्च हुँदै छ । कडा चट्टान र अफ्ठेरो भूगोलका कारण बढी लागत लागेको बताइएको छ । दुरिका हिशावले नजिक रहेपनि सानीभेरीमा पुल नहुँदा तथा अफ्ठेरो भूगोलका कारण अहिलेसम्म भेरी पारी सडक सञ्जालमा जोडिन सकेको छैन् । 

अव भने सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा पर्ने भेरीपारीका विभिन्न वडावासी सडक सञ्जालमा जोडिदै छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update