
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । आज भएको वास सम्बन्धि कार्यशाला बैठकबाट नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा विभिन्न सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो ।
उक्त समितिको उपाध्यक्षमा नगर उप-प्रमुख विमलकुमार पुन रहनुभएको छ भने सदस्य सचिवमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्का रहनुभएको छ ।
त्यस्तै सदस्यमा १४ वटै वडाका अध्यक्ष, २ जना नगर कार्यपालिका सदस्य, नगर स्वास्थ्य शाखा प्रमुख, रेडक्रस, रुकुमेली समाज विकास केन्द्र, नेपाल जनजागरण मञ्च, मुसिकोट खलंगा खानेपानी उपभोक्ता समिति, बालक्लव, महिला समूह, पत्रकार महासंघ र खानेपानी, सरसफाई तथा स्वच्छता शाखा प्रमुख रहेका छन् ।
समितिले विभिन्न निर्णयहरु समेत गरेको छ । जसअनुसार फागुन ५ गतेसम्म समन्वय निर्णय र वजेट तथा प्राविधिक सहयोग खाका बनाउने, फागुन १२ गतेसम्म भिजन र लक्ष किटान गर्ने, फागुन २० गतेसम्म फोकल पर्सन, टास्क फोर्स र टास्क डेस्क गठन, चैत्र ५ गतेसम्म गणक नियुक्ति र तालिम प्रदान, वैशाख १५ गतेसम्म तथ्यांक संकलन र वैशाख २२ गतेसम्म अनुगमन पुनरावलोकन, गुणस्तरको निश्चितता र तथ्यांक परीक्षण गरिने छ ।
त्यस्तै बैठकले वैशाख ३० गतेसम्म संघीय, प्रादेशिक विज्ञ तहबाट परीक्षण र गुणस्तरको निश्चितता, जेठ ५ गतेसम्म तथ्यांकको प्राथमिक र प्रमाणिकरण, जेठ १२ गतेसम्म ड्राफ्ट रिपोर्ट तयार पार्ने, जेठ २० गतेसम्म अन्तिम रिपोर्ट अनुमोदन, प्रमाणिकरण र सार्वजनिकरण गर्ने समयसिमा तोकेको छ ।
सुशासन र सुधृढिकरण अन्तरर्गत जेठ २७ गतेसम्म ऐन नियम निर्देशिका र कार्यविधिको तयारी र लागु गरिने छ भने खानेपानी, सरसफाई तथा स्वच्छता योजना (खासस्व) शाखा वा इकाई गठन गर्ने र असार ७ गतेसम्म एम.आइ.एस. संचालन, नियमन र अध्यावधिक गर्ने पनि समितिको बैठकले निर्णय गरेको छ ।
यसरी समग्रमा मुसिकोट नगरपालिकाको १० वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माण हुने मुसिकोट खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य तथा रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले जानकारी दिनुभयो । बैठकमा केसीले खानेपानी, सरसफाई तथा स्वच्छता योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको बैठकको संचालन मुसिकोट फोहरमैला व्यवस्थापन तथा सरसफाई शाखाका प्रमुख कृष्ण खत्रीले गर्नुभएको थियो ।