आसन्न वैशाख १० गते चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिभि सभा सदस्यको लागि उपनिर्वाचन हुँदै छ । उक्त उपनिर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरे बमोजिम रुकुमपूर्वमा यही फागुन १८ देखि चैत्र १ गते सम्म मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान गरेको छ ।
बिहीबार जिल्ला प्रशासनमा जिल्ला निर्वाचन व्यवस्थापन तथा अनुगमन समितिको बैठक बसेको हो । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षतामा बसेको बैठकले रुकुमपूर्वमा फागुन १८ देखि चैत्र १ गते सम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोध समेत)को कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो । उपनिर्वाचन चितवन–२ मा मात्र भएता पनि निर्वाचन आयोगले जिल्लाभरीको मतादाता नामावली अद्यावधिक गराउने निर्देश गरेको ओलीले जानकारी दिनुभयो । आयोगले गरेको निर्देश अनुरूपमा जिल्लाको मतादाता नामावलीलाई शुद्ध र चुस्त बनाउने उद्देश्य रहेको ओलीको भनाइ रहेको छ ।
अद्यावधिकका लागि सम्बन्धित वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने छ । प्रकाशित गरिएको नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको झुठो विवरणको विरोधमा उजुरी दिन साथै दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदान स्थलमा नाम सार्न वा सच्याउनका लागि सम्बन्धित गाउँपालिका वडा वडा कार्यालय मार्फत निवेदन यही फागुन २३ देखि २६ गते सम्मको समय तोकिएको छ ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाह, पुथाउत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।