Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीका ७८ जना घाइते तथा सहिद परिवारलाई सम्मान

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्धका घाइते र सहिद परिवारका सदस्य गरी ७८ जनालाई सम्मान गरेको छ । पालिकाले सहिद प्रतिष्ठानको सभाहल सिम्लीमा एक कार्यक्रमको आयोजना गरी जनयुद्धका घाइते र सहिद परिवारका ७८ जना सदस्यलाई सम्मान गरेको हो । जनयुद्धका क्रममा घाइते भएका २६ जना र सहिद परिवारका ५२ जना सदस्यलाई सम्मान गरिएको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनयुद्धमा घाइते भएका २६ जनालाई एक एक वटाका दरले पानी शुद्धिकरण गर्ने फिल्टर र नगद २ हजार सहित खादाले सम्मान गरिएको छ । ५२ जना सहिद परिवारका सदस्यलाई भने एक÷एक वटा फिल्टर र नगद २ हजार ५ सय सहित खादाले सम्मान गरिएको हो । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सहिद सप्ताहको अवसरमा पालिका भित्र रहेका घाइते र सहिद परिवारलाई सम्मान गरिएको हो । गाउँपालिकाले यसका लागि ४ लाख रकम छुट्याएको थियो ।

गाउँपालिकाले आगामी वर्ष देखि घाइते भएका र सहिदका छोराछोरीलाई पठनपाठनमा सहज होस् भनेर सहिद स्मृति प्रतिष्ठानको नाममा अक्षकोष स्थापना गर्ने निर्णय पनि गरेको प्रवक्ता घर्तीले बताउनुभयो । सम्मान कार्यक्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले जनयुद्धकै कारण अहिलेको उपलब्धी हाँसिल भएको बताउनुभयो ।

यसमा घाइते, अपांग तथा सहिदको अमूल्य योगदान रहेकोले घाइते, अपांग र सहिदको योगदानलाई कसैले पनि भुल्न नहुने उहाँले बताउनुभयो । त्यस्तै कर्णाली प्रदेशका सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्माले सहिदले देखाएको वाटोमा हिड्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । सहिदले देखाएको बाटो बिराएकै कारण अहिले समस्या भइरहेको पनि उहाँको भनाई थियो ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, शहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य देविलाल गौतम लगायतको पनि आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update